नेपालगन्जका जनप्रतिनिधिको कार्यकाल एक हप्ता बाँकी छँदै विदाइ

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको विदाइ गरिएको छ ।
स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन मतदान हुन दुई दिन बाँकी छँदै र नयाँ जनप्रतिनिधि आउन झन्डै एक साता बाँकी हुँदै उपमहानगरपालिकाका जनप्रतिनिधिहरुलाई बुधबार बिहान व्यानरमा फेरि भेटौंला लेखेर विदाइ कार्यक्रम गरिएको हो । स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका जनप्रतिनिधिहरुले भने यसअघि नै राजिनामा दिइसकेका छन् । नेपालगन्जमा नगर प्रमुख डा.धवल शम्शेर राणा, उप–प्रमुख उमा थापा मगर, २३ जना वडाध्यक्ष, ८ जना कार्यपालिका सदस्य र ९२ जना वडा सदस्य गरी १२५ जना जनप्रतिनिधि छन् ।
कार्यक्रममा उपमहानगरपालिकाले जनप्रतिनिधिहरुलाई सम्मान गरेको थियो । नगर प्रमुख राणा, उप–प्रमुख थापा मगर, प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले जनप्रतिनिधिहरुलाई सम्मान गरेका थिए ।

सोही अवसरमा जनप्रतिनिधि आएपछि ५ वर्षमा भएका विकास निर्माणको संगालो समृद्ध नेपालगन्ज पुस्तक र नगर प्रमुख राणा तथा उप–प्रमुख उमा थापा मगरका ५ वर्षे कार्यकालका मुख्य काम समेटेको थप २ वटा पुस्तक पनि विमोचन गरिएको थियो ।