बास नेपालको केन्द्रीय कार्यालय भवन नेपालगन्जमा शिलन्यास

नेपालगन्ज : बास नेपालको केन्द्रीय कार्यालय भवनको शिलन्यास गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका १८ भुजइ गाउँमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, पूर्वनगर प्रमुख डा.धवल शम्शेर राणा, बास केन्द्रीय अध्यक्ष लुना बुढाथोकी र भवन निर्माण समितिका संयोजक तथा बासका उपाध्यक्ष शिवकुमार वर्माले सोमबार संयुक्त रुपमा पूजा गरेर भवन शिलन्यास गरेका हुन् । बासलाई भवन निर्माणका लागि समाजसेवी माधवराम वर्माले जग्गा दान गरेका हुन् । भवनको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बासले जनाएकोे छ । सामाजिक संस्थाको रुपमा २०५७ सालमा बागेश्वरी असल शासन क्लबको नामबाट नेपालगन्जमा गठन भएको संस्थाको नाम परिवर्तन गरी बास नेपाल राखिएको छ । संस्थाले देशैभरी शाखा विस्तार गरेर भ्रष्टाचार विरोधी युवा लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ ।