लुम्बिनी प्रदेश : बाँकेमा ८० प्रतिशत मतदान केन्द्र अतिसंवेदनशील

नेपालगन्ज : नेपाल प्रहरीले लुम्बिनी प्रदेशका एक चौथाइ मतदानस्थल÷मतदान केन्द्रलाई अतिसंवेदनशील रुपमा वर्गीकरण गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी टेकप्रसाद राईका अनुसार लुम्बिनी प्रदेशमा एक हजार ६५० मतदान स्थल रहेकोमा ४१० वटालाई अतिसंवेदनशीलमा राखिएको छ । जुन प्रदेशका कूल मतदानस्थलको २४.८४ प्रतिशत अतिसंवेदनशील हुन आउँछ । ७१४ संवेदनशील र ५२६ सामान्य रहेका छन् । यो प्रदेशमा रहेका कूल तीन हजार ८६२ मतदान केन्द्रमध्ये २३.२५ प्रतिशत अतिसंवेदनशील रहेका छन् । लुम्बिनी प्रदेशमा अतिसंवेदनशील केन्द्रको संख्या ८९८ रहेको छ । संवेदनशील एक हजार ६८३ र सामान्य एक हजार २८१ रहेका छन् ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी अतिसंवेदनशील मतदान स्थल र केन्द्र बाँकेमा रहेको प्रहरीले जनाएको छ । जिल्लामा रहेका कूल १३८ मतदानस्थल मध्ये ११४ अतिसंवेदनशील, २४ संवेदनशील रहेको प्रहरी तथ्याङ्क छ । जिल्लाका कूल मतदानस्थलमध्ये अतिसंवेदनशील ८३ (८२.६० प्रतिशत) र जिल्लाका ३८० मतदान केन्द्रमध्ये ३०३ अतिसंवेदनशील रहेका छन् । जुुन जिल्लाका कूल मतदान केन्द्रमा ८० (७९.७३) प्रतिशत अतिसंवेदनशील केन्द्र हुन्छ । लुम्बिनी प्रदेशका कूल ८९८ अतिसंवेदनशील केन्द्रमध्ये ३४ (३३.७४) प्रतिशत अतिसंवेदनशील केन्द्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्त जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा स्थापना गरिएको एउटा अस्थायी मतदान केन्द्र मात्र सामान्य रहेको बताउँछिन् । प्रमुख पन्तले जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षा लगायतका सबै कर्मचारी खटिसकेको र शुक्रबारदेखि सबै केन्द्रमा सर्वदलीय बैठक बसेर केही मतदान केन्द्रभित्र पूर्वाधार निर्माणको काम पनि सुरु भइसकेको बताइन् ।