बाँकेमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन सुरु

नेपालगन्ज : बाँकेमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गर्न सुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ हिरमिनियास्थित सेनेटरी ल्याण्डफिल साइट परिसरमा अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन गर्न एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाले जीआइजेडको सहयोगमा सोमबारदेखि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । नगर प्रमुख प्रशान्त विष्टले केन्द्रको सोमबार उद्घाटन गरेका हुन् । अन्य फोहरको तुलनामा स्वास्थ्यजन्य फोहर सबैभन्दा बढी दुषित र संक्रामक हुने भएकाले यस्तो फोहर व्यवस्थापन गरिएको बताए । फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जिआइजेडले २ वटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको छ । उपमहानगरपालिकाले ४६ लाख रुपैयाँमा संरचना निर्माणमा लगानी गरेको हो ।