अभिभावक खोज्दै होटल व्यवसाय
कोरोना भाइरस (कोभिड १९) ले विश्वमा आर्थिक, राजनीति तथा सामाजिक क्षेत्रहरुलाई प्रभावित पार्दै आफ्नो प्रभुत्व जमाइसकेको छ । देशको अर्थतन्त्रमा विशेष टेवा दिइरहेको होटल व्यवसाय क्षेत्र कोरोनाबाट निकै मारमा परेको छ । ‘घर पछिको अर्को घरको’ रुपमा सेवा दिने होटल व्यवसाय लकडाउनमा ठप्प छ । होटल रेष्टुरेन्टहरु सन्चालन नहुँदा व्यवसायीहरु खर्च कसरी धान्ने भनेर इन्तु न चिन्तु भएको अवस्था रहेको छ ।
बाँकेमा साना ठूला गरी करिब पच्चीस सय बढीका होटलहरु सन्चालनमा छन् । नेपालगन्ज सहर पछिल्लो समय ‘होटल हव’का रुपमा विकास हुनैलाग्दा कोरोना महामारीको सामना गर्नु परेको छ । कोरोनाका कारण यो क्षेत्र तहसनहस भएको छ । होटल व्यावसाय धेरै क्षेत्रहरुसँग जोडिएको हुन्छ । यसको आम्दानीको मुख्य क्षेत्र पर्यटन हो । आन्तरिक पर्यटक तथा बाह्य पर्यटक नै होटलका मुख्य ग्राहक हुन् । कोरोना महामारी समाप्त भए पनि मानिसहरु होटलमा आएर खाने बस्ने होला अहिले नै भन्न सकिने अवस्था छैन । होटल व्यवासायीको मुख्य आर्थिक स्रोतको रुपमा रहेको पर्यटन क्षेत्र नै धरासायी छ । त्यसैले, होटल व्यवसाय आर्थिक मारमा पर्ने चिन्ताले व्यवसायीलाई पिरोलिरहेको छ ।
एउटा होटल सन्चालन गर्नका लागि सामान्यतः २५ लाख रुपैयाँभन्दा माथिको बजेट लगानी हुन्छ । त्यसको प्रतिफल पाउन धेरै वर्ष कुर्नुपर्छ । तर अहिलेको जस्तो स्थिति रहिरहेमा होटल व्यवासायीको आर्थिक अवस्था निकै तल झर्ने कुरा नकार्न सकिँदैन् । होटल व्यावसायीको हितका लागि भनेर गठन भएका संघहरुले पनि अहिलेको परिस्थितिमा केही गर्नेसक्ने अवस्था देखिँदैन । हरेक क्षेत्रमा आर्थिक सम्बन्ध हुने हँुदा अहिले होटल व्यावसायीहरुले केही बोल्नसक्ने अवस्थामा छैन । उनीहरुलाई अहिले बाँच्ने कसरी भन्ने मात्रै भएको पाइन्छ । नेपाल सरकारले पनि अन्य क्षेत्रलाई विभिन्न राहतका प्याकेज ल्याए पनि होटल क्षेत्रमा ध्यान पुगेको देखिँदैन । कर संकलनमा राज्यलाई निकै ठूलो टेवा पु¥याइरहेको होटल व्यावसायलाई तीन तहकै सरकारले वास्ता गरेको देखिँदैन । होटल व्यावसायको भविष्य निकै दर्दनाक अवस्थामा पुगेको छ । यस्तो अवस्थामा कस्ले के गर्ने भन्ने बहसको विषय बन्नुपर्छ ।
कोरोना भाइरसको महामारीसँगै आएका रोकथामका उपायले केही वर्षसम्म होटलहरु पूर्ण रुपमा सन्चालन गर्नसक्ने अवस्था नरहेको देखिन्छ । जुन नियम वर्तमान अवस्थामा अनिवार्य हो तर भविष्यमा पनि यसैको निरन्तरता हुने निश्चित छ । कोरोना भाइरसबाट बच्नका लागि अहिले मानिसहरु घरभित्र छन् । जसको मनोवैज्ञानिक असर लामो समयसम्म रहने छैन भन्न सकिँदैन । भौतिक दूरीका विषयमा कुरा गर्दा मानिसहरु विगतमा जस्तो सामान्य अवस्थामा आउनलाई धेरै प्रकारका मनोविश्लेषणात्मक उपाय एवं मनोपरामर्श लगायतका क्रियाकलापहरु गर्नुपर्ने हुन्छ । जुन विषयमा राज्य अझै प्रवेश गरेको पाइँदैन् ।
होटलहरुलाई पूर्ववत् रुपमा सन्चालनमा ल्याउन निकै समय लाग्ने कुरा सहजै आँकलन गर्न सकिन्छ । होटल व्यावसायीका सपनाहरु कोरोना भाइरसले ढलाइदिएको छ । धेरै व्यावसायी पलायन हुने पक्का छ । त्यसैले बैंकबाट लिएका धितोहरु, त्यसका ब्याजहरुमा सहुलियतका बारेमा बहस र छलफल गरिनु आवश्यक देखिन्छ । लकडाउन पूर्वको स्थितिमा होटलहरुलाई लैजानका लागि निकै संघर्ष गर्नुपर्ने देखिन्छ । यस विषयमा सरकारले होटेल व्यावसायीका समस्यालाई प्राथामिकताका साथ सम्बोधन गर्न जरुरी छ । होटल व्यवसायीको पीडामा मल्हम लगाउन स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । (लेखक ग्राण्डन बाँके होटल तथा रेष्टुरेन्ट व्यावसायी संघको अध्यक्ष हुनुहुन्छ ।)