नेपालगन्जलाई पश्चिममा विद्युतको ठूलो लोड सेन्टर बनाउन प्राधिकरणका आधा दर्जन योजना
शंकरप्रसाद खनाल । नेपालगन्ज
नेपाल विद्युत प्राधिकरणले नेपालगन्जलाई पश्चिमको ठूलो लोड सेन्टर बनाउन आधा दर्जन बढी योजना अघि सारेको छ ।
बिहीबारदेखि बाँकेमा सुरु भएको दुई दिने नेपालगन्ज कन्क्लेभको वक्ताको रुपमा सहभागी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो खुलासा गरेका हुन् । उनले यस क्षेत्रकोे विद्युत सेवाको गुणस्तर र सेवा विस्तारमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन आधा दर्जन योजनाका साथ काम गरिरहेका बताए ।
३३ केभीमा सुधार गर्न नेपालगन्जदेखि भारतको नानपारासम्म डबल सर्किट ट्रान्समिटरको काम भइरहेको छ । त्यस्तै बाँकेमा सोलारबाट ७६ मेघावाट विद्युत निकाल्ने तयारी छ । भेरी–बबई डाइभर्सनको ४८ मेघावाट विद्युतलाई पनि नेपालगन्जको भोल्टेज बुस्ट र सप्लाइमा जोड्ने उनले प्रस्ट पारे । गण्डक–नेपालगन्ज २२० केभी लाइनको काम पनि धमाधम भइरहेको प्राधिकरणले जनाएको छ । जुुन तराईका सीमा नाका छेउबाट विस्तार भइरहेको छ । कोहलपुर–जुम्लाको ३३ केभीलाई विस्तार गरेर प्राधिकरणले १३२ केभीमा लैजाँदैछ । सुर्खेतको छिन्छुदेखि जाजरकोटको नलगार्ड जोड्ने ४०० केभीको काम हुँदैछ । वुटवलदेखि कैलालीको अत्तरियासम्म ४०० केभी लाइन टेण्डरको चरणमा रहेको घिसिङ बताउँछन् । ‘४०० केभी लाइनको लमहीमा सव–स्टेशन बनाएर काम अघि बढाउँदा यहाँको भोल्टेज समस्या सबै हल हुन्छ’, उनले भने दाबी गरे, ‘झन्डै तीसदेखि चालिस अर्ब रुपैयाँ पश्चिममा विद्युतको गुणस्तर सुधार र पूर्वाधार विकासका काम हुन गइरहेको छ । अब केही वर्षभित्रै नेपालगन्ज पश्चिमको ठूलो लोड सेन्टरको रुपमा रहनेछ ।’
कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टले विद्युत प्राधिकरणलाई ब्यापार गर्ने संस्थाको संज्ञा दिँदै नमुनाको रुपमा नेपालगन्जमा ८÷१० किलोमिटर तार अण्डरग्राउण्ड गर्न आग्रह गरेका थिए । उनको आग्रहलाई घिसिङले स्थानीय सरकारको सहमति पाए काम अघि बढ्ने आश्वासन दिए तर कहिले र कसरी काम अघि बढ्छ बताएनन् ।
‘देश लोड सेडिङ मुक्त छ तर नेपालगन्जमा पटक–पटक जाने विद्युत सेवाले यहाँका उद्योगको उत्पादनमा गम्भीर असर परिरहेको छ’, बिहीबारदेखि बाँकेमा सुरु भएको दुई दिने नेपालगन्ज कन्क्लेभमा के.एल. दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले गुनासो गरे, ‘विद्युतको भोल्टेज घटबढ हुँदा विद्युतीय रुपमा गरिने प्याकिङको तौलमा पनि मात्रा तलमाथि हुन्छ । यसको जिम्मेवारी कसले लिने ?’
नेपालको ठूलो खाद्य उत्पादक उद्योग दुगड गु्रपका महाप्रबन्धक छाजेडले विद्युत भोल्टेजको समस्या सुनाइरहँदा उनको दायाँ छेउमा प्यानलिस्टको रुपमा रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ध्यान दिएर सुनिरहेका थिए ।
कार्यक्रममा प्रस्तोता बरिष्ठ पत्रकार झलक गैरेले उद्योगीका समस्या समाधानबारे बोल्ने पालो घिसिङलाई नै दिए । ‘गर्मीमा नेपालगन्जको विद्युत सेवाको गुणस्तरीयतामा समस्या छ । डिमाण्ड बढ्दा भोल्टेजको समस्या बढेको हो’, उनले जवाफ दिए ।
शिखर प्लाइका प्रबन्ध निर्देशक चम्पालाल बोथराले पनि बाँकेका उद्योगलाई कहिल्यै नजाने गरी विद्युतको सप्लाइ भए अझ ठूला–ठूला उद्योग खोल्ने सम्भावना रहेको उदाहरणसहित बताएका थिए । घिसिङसँग बाँकेका नागरिक समाजका अगुवाहरुले गुणस्तरीय विद्युत सेवाको सुनिश्चिता खोजेका थिए । कार्यक्रममा नेपाल युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष कुशल सुुन्दर श्रेष्ठले नेपालगन्जले भोगेको उर्जा संकटको विकल्पमा सौर्य उर्जा भएको दाबी गरेका थिए ।
नेपालगन्ज म्याराथनको दशौं संस्करणको पूर्वसन्ध्यामा सुरु भएको दुई दिने कन्क्लेभमा आठ वटा सेसनमा छलफल जारी छ । जहाँ राजनीति, पर्यटन, उद्योग, संगीत, खेलकुद, शिक्षा, जलवायु परिवर्तन, खेल, साहित्य र सिनेका विभिन्न आयाममा छलफल बिहीबारसम्म चल्नेछ ।