१३ ग्राम १६० मिलिग्राम ब्राउन सुगरसहित पतिपत्नी पक्राउ
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा प्रहरीले ठूलो परिणाममा लागूऔषध ब्राउन सुगरसहित एक दम्पत्तिलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकु्ण्डाबाट खटिएको संयुक्त टोलीले बुधबार साढे ६ बजेतिर नेपाल भारत सीमा नाका रहेको खक्रौला चेक पोस्ट्बाट १३ ग्राम १६० मिलीग्राम ब्राउन सुगरसहित टीकापुर नगरपालिका– १ शक्तिनगरका २२ वर्षी मुकेशकुमार डगौरा र उनकी २३ वर्षीया पत्नी सिर्जनाकुमारी चौधरीलाई पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा प्रहरीले कालो प्लाष्टिकको झोलामा साना साना पुडिया बनाएर राखेको अवस्था १३ ग्राम १६० मिलिग्राम लागू ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । दुबै जनामाथि थप अनुसन्धान भइरहेको टीकापुर प्रहरीले जनाएको छ ।