१० वर्षीया ऋषिमाले आँखा बन्द गरेर जब १०० रुपैयाँका सबै नम्बर फर्रर भनिन्…
नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिकाकी १० वर्षीया ऋषिमा सापकोटाको आँखा पट्टीले बन्द थियो । एउटा नोट दिँदा उनले छामेरै १०० रुपैयाँ भनिदिइन् । पैसा त छामेरै पनि थाहा पाइन्छ भन्ने ठान्ठान्नुहोला । उनले त तब चकित पारिन्, जब त्यो नोटका ६ अंकको नम्बर पनि छामेरै खर्रर भनिदिइन् । पाँच रुपैयाँ नोटलाई पनि उनले छामेर नै चिनिन् । नोट नम्बर र नोटमा भएका चित्र पनि भनेर सबैलाई छक्क पारिदिइन् ।
गत शनिबार नेपालगन्जको सिद्धार्थ कटेजमा द आर्ट अफ लिभिङको आनन्द उत्सवको समापन समारोहमा इन्ट्यूसन प्रोसेस सिकेकी ऋषिमाले ज्ञान बाँडेकी हुन् । जीवन जिउने कला सिक्न आनन्द उत्सवमा सहभागी अभिभावक आँखा बन्द गरेर उनले गरेको क्रियाकलापबाट दङ्ग थिए ।
सुरुमा उनका पिता ऋषि सापकोटाले अंग्रेजी अक्षर लेखेर दिएका थिए । उनले अक्षर छामेर डब्लुओआरके वर्क भएको बताइन् । उनको आँखा बन्द नै थियो । जुली किरण पुनले लेखेको अंग्रेजी शब्द नेपाललाई पनि त्यसरी नै छामेर भनिदिइन् । एक दर्जन साइन पेनबाट हरियो छान्न भनियो । उनले सहजै चयन गरिन । इन्ट्यूसन प्रोसेस सिकेका ऋषिमाका भाइ ऋषभले पनि पर्पल कलर छानेर देखाए । आँखा खोलेर रंगहरुमा पर्पल छान्न धेरैलाई सकस हुन्छ । उनलाई आँखा बन्द हुँदा पनि दुविधा भएन ।
ऋषिमा र ऋषभले कसरी आँखामा पट्टि बाँधेर भन्न सके त ? द आर्ट अफ लिभिङको योगध्यान प्रशिक्षकसमेत रहेका उनका पिता ऋषि सापकोटा भन्छन्, ‘यो कुनै जादु होइन । छ्रैठौं इन्द्रिय खुल्दा साना बालबालिकाले आँखा बन्द हुँदा पनि सबै देख्छु भन्छन् । यसको न रिजन छ, न लजिक नै । कुनै जवाफ नै हुन्न । छैठौं इन्द्रिय सक्रिय हुँदा चमत्कार गर्छन् ।’
द आर्ट अफ लिभिङको इन्ट्युसन प्रोसेस (प्रज्न योग)का समेत प्रशिक्षकसमेत रहेका सापकोटाले अनुभव सुनाए, ‘कति बच्चाहरु त एकैदिनमा पनि चिन्नसक्ने भएका छन् । एकैदिनमा सबैमा हुँदैन । नियमित साधना गर्नुपर्छ । जब बच्चाको छैंठौं इन्द्रियले काम गर्न थाल्छन्, तब आखाँ बन्द हुँदा पनि सबै थाहा पाउँछन् ।’
द आर्ट अफ लिभिङका धेरै कार्यक्रममध्ये बालबालिका र किशोरकिशोरीलाई उनीहरूको क्षमता विकास गर्न डिजाइन गरिएको अन्तज्र्ञान प्रक्रिया हो, इन्ट्युसन प्रोसेस । प्रज्न योगका सिनियर प्रशिक्षक लीला लामिछाने सामान्यतः मानिसले पञ्च इन्द्रियबाट मात्र सिक्ने बताउँछिन् । ‘कतिले हेरेर सिक्छन् । कोही सुनेर सिक्छन् । स्वाद लिएर पनि सिकिन्छ । छामेर पनि सिक्न सकिन्छ र कोही सुँघेर पनि सिक्छन् । ज्ञान विज्ञानबाट पनि सिकिन्छ । पञ्च इन्द्रियबाट सिकेको कुरा सधैं ग्यारेन्टी हुँदैन’, उनी भन्छिन्, ‘पञ्च इन्द्रिय भन्दा पर हामी परिष्कृत रुपमा छैठौं इन्द्रियबाट सिक्छौं । त्यो कुरा प्रज्न योगले सिकाउँछ । यो प्रक्रियाबाट ब्यक्तिको अन्तर चच्क्षु खुलाउने अर्थात तेस्रो आँखा खुलाउने काम हुन्छ ।’ हिन्दु धर्मग्रन्थहरुमा हामीले भगवान महादेवको तेस्रो आँखा शक्तिशाली हुन्छ भन्ने बारेमा सुनेका छौं ।
मेसिनले स्क्यान गरेर कुन सामान छ भनेर छुट्टाए झैं यो प्रक्रिया सिकेका बालबालिका र किशोरकिशोरीहरुले आँखा बन्द हुँदा पनि हरेक चिज चिनेर जवाफ दिन सक्षम हुुन्छन् ।
द आर्ट अफ लिभिङको इन्ट्यूसन प्रोसेसमा ५ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिका सहभागी हुनसक्छन् । यो प्रक्रिया दुई दिन मात्र सिकाइन्छ । पछिल्लो यसलाई बढाएर १७ दिनको बनाइएको छ । प्रशिक्षकले नियमित रुपमा अभ्यास भने जारी राख्छन् ।
यो प्रक्रिया सिकेका बालबालिकाहरुमा आत्मविश्वासमा बृद्धि, मनको एकाग्रता र पढाइमा सुधार, आफूभित्र रहेको आन्तरिक क्षमताको अनुभूति, सञ्चार सीपको ज्ञान र सिक्ने सीपको विकास, अरूप्रति सेवाको भावना विकास, अज्ञातको डर हटाउन, रचनात्मकता र बुद्धिमत्ता बढाउन सक्षम हुने द आर्ट अफ लिभिङले जनाएको छ ।
हामी सबै हाम्रो इन्द्रियभन्दा बाहिर बुझ्ने स्वाभाविक सहज क्षमता लिएर जन्मेका हुन्छौं । हामी बढ्दै जाँदा, हाम्रो संस्कृति र शिक्षाले हामीलाई हाम्रो भित्री क्षमतामा पहुँच गर्ने क्षमता विकास गर्नबाट रोक्छ, विशेष गरी जब हामीलाई तिनीहरूको सबैभन्दा बढी आवश्यकता हुन्छ । यो क्षमता विशेष गरी बच्चाहरूमा देखिन्छ । बच्चाहरूको दिमाग ताजा र खुला हुन्छ । त्यसैले बालबालिकाले यो प्रक्रियाबाट चाँडो सिक्छन् । उनीहरु अन्तज्र्ञानको अनुभव गर्छन् । यो प्रक्रियाले बालबालिका र किशोरकिशोरीहरूलाई सरल र शक्तिशाली प्रविधिहरू सिकाउँछ । जसले तिनीहरूलाई आफ्नो अन्तर्निहित सहज क्षमतामा पहुँच गर्न र क्षमता कायम राख्न सक्षम बनाउँछ ।
बढ्दो जिज्ञासा र राम्रो तर्क क्षमताको कारणले गर्दा कुनै विषयमा आफ्नो पकड सुधार गर्न, स्कूलको क्रियाकलापमा रुचि देखाउन, समस्या समाधान गर्ने मानसिकता विकास गर्न, मौलिक रूपमा सोच्न, र अरूले उत्पन्न गरेका विचारहरू बुझ्न र कदर गर्न, सिकेका सीपका कारण पढाइमा धेरै सुधार भएको पाइएको छ ।