कैलालीमा ८० वर्षीया वृद्धाको हत्या

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको जानकी गाउँपालिकामा एक ८० वर्षीया वृद्धाको हत्या भएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी नवीन राजा बुढाथोकीले दिएको जानकारी अनुसार जानकी ९ अमरावती गाउँको आफ्‌नो घरमा एक्लै बस्दै आएकी ८० वर्षीया मातादेवी शाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो । । मंगलबार बिहान दुई तले घरको माथिल्लो तलामा रहेको खाटमा शाहीको शव भेटिएको हो । मृतक शाहीको टाउको, घाँटी र छातीमा गम्भीर घाउ फेला परेको बताउँदै डीएसपी बुढाथोकीले पोष्टमार्टमको तयारी भइरहेको बताए । शाही घरमा एक्लै बस्थिन् । प्रहरीका अनुसार उनका एक छोरा काठमाडौं बस्दै आएका छन् भने अर्का छोरा टीकापुरमा बस्छन् ।

प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ । ती व्यक्तिसँग सोधपुछ जारी रहेकाले अहिले नै केही भन्न नसकिने प्रहरीले जनाएको छ । दुई वर्ष अघि अमरावतीको एक सामुदायिक वनमा लागूऔषध प्रयोगकर्ताहरुले एक युवकको घाँटी रेटेर हत्या गरेका थिए ।