बागलुङका विश्वकर्मा प्रथम बाँके खुल्ला एकल लोक गीत प्रतियोगिताको विजेता

शान्ति सुनार । कोहलपुर
बागलुङका प्रेम विश्वकर्माले प्रथम बाँके खुल्ला एकल लोकगीत प्रतियोगिता २०८३ को उपाधि जित्नु भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाँकेको आयोजना तथा मुस्कान टेन्ट हाउस बाँकेको सह आयोजनामा कोहलपुर नगरपालिका-११ स्थित खुल्ला मञ्चमा गणतन्त्र दिवसको अवसरमा गत १५ जेठमा सम्पन्न प्रतियोगितामा देशभरका ५४ जनालाई उछिन्दै विश्वकर्मा प्रथम हुनु भएको हो । विजेता विश्वकर्माले नगद ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनु भयो ।

त्यसैगरी कास्कीका समीर पुन द्वितीय र चितवनका सन्दीप चेपाङ तृतीय हुनुभयो । दाङकी कालिका राणा र गुल्मीका रमेश विश्वकर्माले सान्त्वना स्थान हासिल गर्नुभयो ।
दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्त्वना स्थान प्राप्त गर्ने दुई जनालाई जनही नगद पाँच पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय महासचिव शिव हमाल, उपाध्यक्ष पूर्णकला बिसी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष दामोदर बस्याल निर्णायक भूमिकामा रहनुभएको थियो।

हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा देशभरबाट जम्मा ६१ जनाले सहभागिता जनाएकोमा ५५ जना प्रतिस्पर्धीहरूले प्रस्तुति दिएका थिए । कोहलपुर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक एसके रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि कोहलपुर र नव गणेश भूसेवा केन्द्र तथा लेखापढी कोहलपुर रहेका थिए। त्यसैगरी कोहलपुर बागेश्वरी इंग्लिश मिडियम स्कुल र पोखरा गहना पसलले उप मुख्य प्रायोजकको रूपमा सहयोग गरेका थिए। १५ जेठको अपरान्ह ४ बजेबाट सुरु भएको प्रतियोगिता १६ जेठको बिहान करिब ३ बजे भव्यताका साथ सम्पन्न भएको थियो । प्रतियोगितामा दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो।