चितवनबाट ९१ गैंडा स्थानान्तरण, बर्दियामा ३८ मात्रै !

ठाकुरद्वारा (बर्दिया) : बर्दिया राष्ट्रिय निकुञ्जमा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरेकामध्ये ५८ प्रतिशत गैंडा गायब छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले बुधबार ठाकुरद्वारामा पत्रकारका लागि आयोजना गरेको लुम्बिनी प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी सञ्चारमाध्यमको संलग्नता र सचेतना विषयक कार्यक्रममा बर्दिया निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत महेश न्यौपानले निकुञ्जमा ३८ वटा मात्र गैंडा रहेको जानकारी दिनुभयो ।

 सोही कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख वरिष्ठ संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले सन् १९८६ देखि सन् २०१७ सम्म ९ पटक चितवनबाट बर्दियाको बबइ उपत्यका क्षेत्रमा ७८ र कर्णाली तटीय क्षेत्रमा १३ गरी मा ९१ वटा गैंडा स्थानान्तरण गरेको जानकारी दिनुभयो ।

चिवतनबाट सन् १९८६ मा १३ वटा, १९९१ मा सबैभन्दा बढी २५ वटा, १९९९ मा ४ वटा, २००० मा १६, २००१ मा ५, २००२ मा १०, २००३ मा पनि १०, २०१६ मा ५ र २०१७ मा ३ वटा गैंडा स्थानान्तरण गरिएको थियो । सशस्त्र द्वन्द्वका क्रममा चोरीसिकारबाट ३६ वटा र प्राकृतिक कारणले २४ वटा गैंडा मरेका थिए। गैंडा एक आपसमा जुधेर मर्ने गरेका छन् । बर्दियाका १० वटा गैंडा भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा रहेको बताइन्छ । यो कुरा भारतीय पक्षले पनि स्वीकारेको छ । सन् २०२१ यता बर्दियामा गैंडा गणना गरिएको छैन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले मानव वन्यजन्तु अपराधका समाचार कसरी लेख्ने भन्नेबारे सहजीकरण गर्नु भएको थियो । सो अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्यले मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तु संरक्षणसँगै स्थानीय समुदायले पनि प्रत्यक्ष लाभ पाउने गरी राज्यले प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा बाँके, बर्दिया र दाङका ३० बढी पत्रकारको सहभागिता रहेको थियो ।