नेपालगन्ज-दिल्ली सिधा हवाइ उडानबारे सर्वदलीय र सर्वपक्षीय छलफल
नेपालगन्ज : प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालगन्ज दिल्ली सिधा हवाइ उडान पनि एउटा एजेण्डा बन्नु पर्नेमा बाँकेका सरोकारवालाहरुले माग गरेका छन् ।
नेपालगन्ज दिल्ली सिधा हवाइ उडानका लागि लामो समयदेखि पैरवी गरिरहेको नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले सोमबार नेपालगन्जमा सर्वदलीय र सर्वपक्षीय छलफल गरेको थियो ।
संघका अध्यक्ष चिरञ्जीवी ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लाका राजनीतिक दल, उद्योगी–व्यवसायी, नागरिक समाज तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान, नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण तथा रेलमार्गको पहुँच विस्तारको एजेण्डा समावेश गर्नुपर्नेमा जोड दिएका थिए ।
छलफलबाट प्राप्त सुझावका आधारमा उक्त मुद्दाहरू प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा समावेश गर्न आग्रह गर्दै मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने संघले तयारी गरेको छ ।











