२२ सय रुपैयाँ पर्ने कोठामा क्वारेन्टाइन !

खजुरा गाउँपालिकाको क्वारेन्टाइनमा पनि वाइफाइसहितको सुविधा, बाँकेमा खजुरामा २८ र नेपालगन्जमा १० गरी २८ जना क्वारेन्टाइनमा
नेपालगन्जको धम्बोझीस्थित होटल सामर्थ इनको क्वारेन्टाइन । फोटो : मेरो खुसी
खजुरा गाउँपालिकाको मैटहवा माध्यमिक विद्यालयमा सन्चालन गरेको क्वारेन्टाइन । फोटो सौजन्य : दुर्गा रोकाय

मेरो खुसी संवाददाता
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले धम्बोझीस्थित सामर्थ इनमा क्वारेन्टाइन सन्चालन गरेको छ ।
महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा सुविधा अभाव भएको गुनासो आएपछि त्यहाँ रहेका १० जनालाई स्टार लेभलको होटल सामर्थ इनमा राखिएको उपमहानगरका उपप्रमुख उमा थापा मगरले बताइन् । उनले भनिन्, ‘होटलमा १६ वटा कोठा मात्र छन् । अहिले १० वटा मात्र प्रयोग भएका छन् । हलमा पनि कम्तीमा ८ वटासम्म बेड राख्न सकिन्छ ।’
यो होटलले प्रति दिन एउटा कोठा दुई हजार दुई सय रुपैयाँमा दिने गरेको सन्चालक सरोज चन्दले जानकारी दिए । उनले संकटको घडीमा सहयोग गरेको बताए । ‘अहिले हरेक व्यक्तिलाई फरक फरक कोठामा राखिएको छ । संख्या बढ्यो भने एउटा कोठामा दुई जनासम्मलाई राख्न सकिन्छ’, उनले भने ।
नेपालगन्ज उपमहानगरपालिकाले कोरानासँग सम्बन्धि जानकारी लिन र दिनका लागि टोल फ्रि नम्बर सुरु गरेको छ । १६६०८१५२०५२ नम्बरको टोल फ्रि नम्बरमा सम्पर्क गर्दा भेरी अस्पतालका फिजिसियन डा.राजन पाण्डे, स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबावु श्रेष्ठ, नेपाली सेनाका क्याप्टेन विकास लिम्बु र नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दसँग सिधा सम्पर्क गर्न सकिनेछ ।
त्यसैगरी खजुरा गाउँपालिकाले वडा नं. १ को मैटहवा माध्यमिक विद्यालयमा सन्चालन गरेको क्वारेन्टाइनमा पनि वाइफाइसहितको सुविधा छ । २ नं. वडाका अध्यक्ष देवीलाल खनालका अनुसार खजुराको क्वारेन्टाइनमा १ जना महिलासहित २८ जना छन् ।