काठमाडौंपछि पहिलो पटक धनगढीमा भेटिए कोरोना संक्रमित

विदेशबाट आएका सबै जनालाई अनिवार्य रुपमा क्वारेन्टाइन र होम क्वारेन्टाइनमा सुरक्षित रुपमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भिडियो लाइभ पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटालगायत । फोटो : मेरो खुसी

मेरो खुसी डेक्स
नेपालगन्ज : काठमाडौं बाहिर पहिलो पटक धनगढीमा कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबार भिडियो लाइभ पत्रकार सम्मेलनमार्फत दुवईबाट फर्केर सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ३४ वर्षका युवामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। युवक चैत्र ११ गते अस्पतालमा भर्ना भएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । नेपालमा अहिलेसम्म चार जनामा कोरोना संक्रमण भएको पाइएको छ । तीमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने दुई जनाको टेकु अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता देवकोटाले भनेका छन्, उपत्यकाभन्दा बाहिर पनि संक्रमण भएका व्यक्ति अरु पनि हुनुहुन्छ । लकडाउनलाई पालना गरौं । विदेशबाट आएका सबै जनालाई अनिवार्य रुपमा क्वारेन्टाइन र होम क्वारेन्टाइनमा सुरक्षित रुपमा बस्न आग्रह गर्छु ।