एक लाख ७२ हजार बढी कोरोना संक्रमित निको भएर फर्किए
मेरो खुसी डेक्स
नेपालगन्ज : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै जाँदा निको हुनेको संख्या पनि बढेको छ ।
कोरोनाबारे जानकारी दिने वेभसाइट व्लडोमिटर्स इन्फोको मंगलबार अपरान्ह यो समाचार तयार पार्दासम्म कोरोना संक्रमण भएका मध्ये एक लाख ७२ हजार तीन सय १९ जना उपचारपछि निको भएर फर्किसकेका छन् । हाल संक्रमित बिरामीहरु पाँच लाख ९१ हजार दुई सय ६४ जना रहेकोमा पाँच प्रतिशत अर्थात ३० हजार चार सय ११ जना गम्भीर बिरामी रहेका छन् । तिनको भेन्टिलेटर र आइसीयूमा राखेर उपचार भइरहेको छ भने बाँकी पाँच लाख ६० हजार आठ सय ८८ जना सामान्य रुघाखोकीका बिरामी रहेका छन् । उनीहरुले सावधानी अपनाए चाँडै निको हुने सम्भावना रहेको चिकित्सकहरुको भनाइ ।
दुई सय देशमा फैलिएको कोरोनाको संक्रमणबाट हालसम्म आठ लाख दुई हजार ६ सय ३९ जना संक्रमित भएका छन् । कोरानाकै कारण ३९ हजार १४ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमणबाट सचेत रहन र सम्भाव्य जोखिमबाट बच्न विश्व स्वास्थ्य संगठनले आग्रह गरिरहेका बेला कोरोनाको रोकथाममा भएका प्रयासले केही सफलताका समाचार पनि छन् ।
नेपालमा भने अहिलेसम्म पाँच जनामा मात्र कोरोना संक्रमण देखिएको छ । तीमध्ये एक जना निको भइसकेका छन् भने अन्य चार जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।