२३ दिन नेपालगन्जको क्वारेन्टाइनमा बसेकालाई फेरि १४ दिन पालिकाको क्वारेन्टाइनमा बस्न आदेश !

बैजनाथ गाउँपालिकाका १३ जनाले क्वारेन्टाइनमा बस्न मानेनन्, गृहको आदेश हो अनिवार्य मान्नुपर्छ : बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय
बैजनाथ गाउँपालिकाले क्वारेन्टाइनबाट आफ्ना नागरिक ल्याउन पठाएको बस । फोटो : मेरो खुसी

वनकटुवा (बाँके) : नेपालगन्ज १६ को दशगजास्थित क्वारेन्टाइनमा २३ दिन बसेर घर फर्केका एक सय ९२ जनाले स्थानीय तहको क्वारेन्टाइनमा पनि अब फेरि १४ दिन अनिवार्य बस्नुपर्ने भएको छ ।
बाँकेको बैजनाथ गाउँपालिकाले शुक्रबार नेपालगन्जको क्वारेन्टाइनबाट घर फर्कंदै गरेका आफ्नो पालिकाका १३ जनालाई ल्याउन गाडी नै पठायो । देशका झन्डै दुई दर्जन जिल्लाका क्वारेन्टाइनमा रहे पनि बैजनाथले मात्र आफ्नो नागरिक ल्याउन प्रभात नमूना माध्यमिक विद्यालयको बस पठाएको थियो । त्यही बसमा खजुरा गाउँपालिकाका ७ जना पनि थिए । ‘गाडी सम्झना चोक पुगेपछि वनकटुवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा लैैजाँदै गर्दा उनीहरुले २३ दिन बसेर फेरि अर्को १४ दिन नबस्ने भनेर अडान लिएका छन्’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुुर शाहीले मेरो खुसीसँग मोबाइल सम्पर्कमा भने, ‘हामी होम क्वारेन्टाइनमै बस्छौं । जस्तोसुकै विधि अवलम्वन गर्नपर्छ, गर्छौं । क्वारेन्टाइनमा कुनै पनि हालतमा बस्दैनौं भनेर अडान लिइरहेका छन् । राज्यको नियम भनेको त नियमै हो । सबैले पालना गर्नुपर्छ ।’
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय नेपालगन्जको क्वारेन्टाइनमा जतिसुकै दिन बसे पनि स्थानीय तहको क्वारेन्टाइनमा पनि थप १४ दिन बस्न अनिवार्य गरिएको बताउँछन् । उनले भने, ‘भारतबाट आएका हुनाले पालिकाको क्वारेन्टाइनमा पनि थप दुई हप्ता अनिवार्य बस्नुपर्छ । यो गृहमन्त्रालयको आदेश नै हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *