बाँकेमा लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो सुरु

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैयामा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
दुई दिने प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले शनिबार उद्घाटन गर्नुभयो ।
राप्तीसोनारी गाउँपालिकाको समन्वयमा भृकुटी तेक्वान्दो डोजाङ, नेपालगन्जले प्रतियोगिता आयोजना गरेको हो ।
सो अवसरमा अध्यक्ष पौडेलले खेलाडी र खेलको सम्मान गर्न सकेमा देशको, भाषाको, कलाको, संस्कृतिको विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, खेलाडी गौरव हुन् । खेलाडी पहिचानका मालिक हुन् भन्ने कुरा मैले बुझेको छु ।
अध्यक्ष पौडेलले अन्य खेलजस्तै तेक्वान्दोको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान् थापाले तेक्वान्दोले अन्तर्राष्ट्रिय ठूला पदक जितेर देशको गौरव बढाएको बताउनुभयो । उहाँले तेक्वान्दो खेलाडीले पाराओलम्पिकमा कास्य, एसियनमा स्वर्ण र साफमा एकै जनाले चार स्वर्ण जितेर ईतिहास बनाएको स्मरण गर्नुभयो । थापाले तेक्वान्दो मनोरन्जन र आत्म सुरक्षामात्रै नभएर देश चिनाउने विधा भएको बताउनुभयो ।
बाँके तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले भलिबल, एथलेटिक्सजसरी पालिकाले तेक्वान्दोलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
तेक्वान्दोका प्रशिक्षक एवं प्रतियोगिताका संयोजक चन्द्रप्रकाश श्रेष्ठले गाउँमा छरिएर रहेका खेलाडीको विकासका लागि र राप्तीसोनारीको पर्यटकीय क्षेत्रको चिनारीका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
भृकुटी तेक्वान्दो डोजाङका संयोजक उमादेवी थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्ष, तेक्वान्दो संघका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो ।
आइतबारसम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, रोल्पा, प्यूठान, रुपन्देही र कपिलबस्तुका खेलाडी सहभागी रहेका छन् ।
तेक्वान्दो खेलको विकास र विस्तार गर्न, प्रदेशस्तरीय खेलाडी उत्पादन गर्न, युवामा अनुशासन र आत्मविश्वास बढाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार गर्न, खेलकुदमार्फत सामाजिक एकता र भाइचारा बढाउन भृकुटी तेक्वान्दो डोजाङले यस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ ।