जसले कृषिमा क्रान्ति ल्याए
राजापुर (बर्दिया) : पश्चिम नेपालको पूरानो बजार राजापुरबाट पूर्वमा दुई किलोमिटरको दूरीमा भीम्मापुर गाउँ आउँछ । अन्नको भण्डार मानिने बर्दिया जिल्लाको भौरा टप्पा (राजापुर क्षेत्र)को साबिक भीम्मापुर गाविस-१ (हाल राजापुर नगरपालिका-४) को यो ठाउँमा संघीय, प्रदेश र स्थानीय तहका मन्त्रीदेखि जनप्रतिनिधि कृषि अवलोकन गर्न र गराउन आउँछन् ।
प्रदेश सरकारले स्मार्ट कृषि गाउँका नाममा एक वर्षदेखि तीन बालीका लागि सघाउन थालेको छ । तर, यहाँ त एक दशकअघि नै त्यस्तो अभ्यास भइरहेको छ । प्रदेश ५ मात्र होइन, सम्भवतः पश्चिम नेपालमै एक जना किसानले आफ्नै बलबुता र लगानीबाट कृषिमा आधुनिकीकरण गरेका छन् । कृषिको सबै काम अत्याधुनिक औजारबाटै गर्छन् । कृषि क्षेत्रको आधुनिकतामा लागेका किसान हुन्, पहारी चौधरी ।
कैलालीको सुवर्णपुर, डाँडाबोझी, बर्दियाको सोनपुरहुँदै उनका बाजे फागु चौधरी भीम्मापुर पुगेका थिए । बुवा सिंहालु पनि कमैया नै भए । उनको परिवार जन्मजात नै कमैंया थियो । ४३ वर्ष अघि भीम्मापुरमा पहारी जन्मे । गाउँमा जमिन्दारी प्रथा थियो । कमैंयाका सन्तानले जमिन्दारको घरमा सित्तैमा काम गर्नुपथ्र्यो । उनले पनि गरे । सानोमा बाख्रा, गाईगोरु र राँगाभैंसी चराए । ‘हलो पनि जोत्थे’, उनी विगत सम्झन्छन् । उनका बाबाले आधा पेट खाएर पनि छोरालाई अंग्रेजी विषयमा बीएडसम्म पढाए । उनले पढाउन थाले । शिक्षण पेशा छोडेर उनले कृषिमै भविष्य देखे । बाउबाजेले अरुको घरमा मजदुरको रुपमा गरिरहेको परम्परागत कृषिलाई बदले । कृषि क्रान्ति गर्न नयाँ–नयाँ यन्त्र भित्र्याएर अगुवा किसान बनेर नमूना काम गरेका छन् ।
उनका बुवाका चार भाइ र तिनका ७ भाइ छोर र तिनका सन्तानसहित २५ जनाको तीन पुस्तासँगै बस्छन् । समाजबाट संयुक्त परिवारको अवधारणा हराउँदै गइरहेको बेला उनको परिवार भने मिलेर कृषि कर्म गरिरहेको छ । कमैंया बस्दा बाबा र काकाले सम्हालेको जमिन्दारको जग्गा किनेका छन् । ‘हिजो हाम्रो अन्नदाता जमिन्दार हुन्थे । आज हामी उहाँहरुको अन्नदाता भएका छौं’, उनले यर्थाथता दर्शाए ।
एक दशकअघिसम्म कमैंया लाग्न छोडेर उनको परिवार अर्काको जग्गा अधियामा जोत्थ्यो । ०६४ सालमा एक लाख रुपैयाँमा एक बिगाह जग्गा ऋणमा किने । कृषि कर्मबाटै पहारीले ७ विगाह जग्गा जोडे । अहिले उनको एक विगाह ८ कठ्ठामा त घर नै छ । १० कठ्ठा जतिको त आँगनै छ ।
लकडाउनकै बेला वैशाखको पहिलो साता मेरो खुसी टिम पहारीको घर पुग्दा आँगन कुनै कृषि सामग्री बेच्ने कारखानाको गोदाम देखिन्थ्यो । उनी चैते धान गोड्दै थिए ।
‘मसँग कृषि क्षेत्रमा प्रयोग हुने झन्डै सबै मेसिन छन् । कृषिको काम ९५ प्रतिशत यन्त्रले गर्छु’, उनले गर्वसाथ सुनाए, ‘बिउ रोप्ने मेसिन छैन । बिउ छर्नेेदेखि काट्ने, दाउँने सबै काम मेसिनबाट गर्छु ।’ उनीसँग झन्डै डेढ दर्जन कृषि औजार छन् (फोटोमा हेर्नुस् सूची) ।
आली फरुवा (कोदालो) चलाउनु पर्दैन । ‘मड बाइन्डर’ले लगाउँछ । कम्प्यूटर प्रविधिबाट जमिन सम्याउने लेजर ल्याण्ड लेब्लर पछि छ । धानको बिउ ट्रेमा बिउ उमार्छन् । मेसिनले रोप्छ । रिपरले नै काट्छ । थ्रेसर दाउँछ । उनले कृषि प्रविधि आफैले पनि विकास गरेका छन् । ट्याक्टरबाट जमिन सम्याउने तीन सय किलो फलामे हेंगा र धान ओसार्ने पंखा आफैले डिजाइन गरेर प्रयोग गरिरहेका छन् । नेपालमा एक जना किसानले सम्भवतः यति धेरै अत्याधुनिक कृषि मेसिन प्रयोग गर्नेमा उनी अग्रपंक्तिमा आउँछन् । भन्छन्, ‘सवा एक करोडका कृषि औजार छन् । अझै धानको बीउ राख्ने चार पाँग्रे ‘राइस प्लान्टर’ ल्याउने योजना छ ।’
खेतीकिसानीमा अत्याधुनिक मेसिन प्रयोग गर्न थालेको एक दशकमै उनले कृषिमा चमत्कार गरिरहेका छन् । हरेक वर्ष खेती गर्ने क्षेत्रफल बढाइरहेका छन् । आम्दानी पनि बढेको छ । राजापुर क्षेत्रमा सामान्य किसानले औसत एक विगाहमा जग्गामा ३० देखि ३५ क्वीन्टल धान फलाउँछ । उनी त्यो भन्दा १० क्वीन्टल बढी अर्थात एक विगाहमा ४० देखि ४५ क्वीन्टल धान फलाउँछन् । सामान्य किसानले १२ देखि १५ क्वीन्टल प्रति बिगाह फलाउने गहुँ उनको औसत २० क्वीन्टल फल्छ । परम्परागत कृषिबाट खर्च बढी हुने र उत्पादन कम हुने भएकाले उनले कृषिमा यान्त्रिकरणमा लागेको बताए । ‘एक विगाहा जग्गामा राँगा र गोरु प्रयोगबाट खेती गर्नु भन्दा मेसिनकोे प्रयोगबाट कम्तीमा पनि नौ दश हजार रुपैयाँ फाइदा हुन्छ’, उनले अनुभव सुनाए ।
यो वर्ष २५ विगाह क्षेत्रफलमा खेती गरेका उनले आउँदै गरेको वर्षायामदेखि यसलाई दोब्बर बनाएर ५० विगाह बनाउने लक्ष्य छ । आगामी तीन वर्षमा यो लक्ष्य दोब्बर अर्थात एक सय विगाहमा खेती गर्ने योजना छ । औसत वर्षमा पाँच सय सात सय क्वीन्टल धान (वर्षे र चैते) र डेढ दुई सय क्वीन्टल गहुँ बिक्री गर्छन्् । ‘सरकारले चैते धान लगाउन भन्छ तर कृषि सामग्री संंस्थानले किन्दैन’, उनले गुनासो गरे । तर पनि उनी राजापुरमा चैते धानको प्रवद्र्धनमा लागेका छन् ।
कृषिमा धेरै अनुदान दिएर किसानलाई प्रोत्साहन गर्न खोजिएको छ । त्यो अनुदानबाट वास्तविक किसानभन्दा फर्म दर्ता गर्नेले मात्र फाइदा लिएको उनको ठम्याँइ छ । उनको जोड छ, ‘अनुदान होइन, सहुलियत दरको ऋण दिनुपर्छ । अहिलेको कृषि ऋण त सामान्य किसानले पाएकै छैनन् । ऋणलाई सरल र सहज बनाएर किसानको पहुँचमा पुग्ने हुनुपर्छ ।’
विश्वमा कोेरोना भाइरस (कोभिड १९) को महामारी छ । कोरोनाको प्रभावले कृषि पेसालाई बढावा दिने उनले आशा गरेका छन् । वैदेशिक रोजगारीमा गएकाहरु घर फर्कने परिस्थिति बनेको छ । देशमा अरु उद्योगधन्दा र कलकारखाना पर्याप्त छैनन् । विदेशबाट फर्केका युवाहरु पनि कृषि पेशामै लाग्नेमा उनी कृषिबाटै देशको समृद्धि देख्छन् । ‘हाम्रो कृषि निर्वाहमुखी भयो’, उनको सुझाव छ, ‘कृषिमा आधुनिकीकरण र यन्त्रिकरणमा गरेर आयआर्जन हुने गरी कृषि कर्म गर्नुपर्छ ।’