गहुँको समर्थन मूल्य तोकियो, खरिद कहिलेबाट ?

गहुँ बिक्रि हुन नसक्दा किसान चिन्तित

नेपालगन्ज : सरकारले गत शुक्रबार कृषकबाट खरिद गर्नको लागि गहुँको समर्थन मूल्य कायम गरेको छ ।

किसानलाई प्रोत्साहन मिल्ने भन्दै प्रति क्विन्टल ३ हजार १५ रुपैयाँ मूल्य तोकेको हो । मूल्य तोके पनि हालसम्म खरिद कसरी र कहिलेदेखि गर्ने भन्ने जानकारी नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ । ‘हामीलाई अहिलेसम्म केन्द्रबाट कुनै जानकारी आएको छैन’ क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख भरतराज खनियाँले भने । नेपालगन्जमा दुई वर्ष यता कम्पनीले गहुँ खरिद गरेको थिएन तर यस वर्ष भने खरिद गरिने मौखिक जानकारी एक महिना पहिले नै पाएको प्रमुख खनियाँले बताए । केन्द्रबाट निर्देशन आएमा लकडाउनको समयमा सामाजिक दूरी कायम गरेर खरिद गर्न सकिने उनले बताए । ‘यतिबेला हामीसँग लेवर र बोराको समस्या छ’ उनले भने ‘निर्देशन आए हामी त्यो व्यवस्थापन गर्नसक्छौ ।’
सरकारले गहुँको समर्थन मूल्य तोके पनि लकडाउनको समयमा कसरी र कहिलेदेखि खरिद गर्ने भन्ने विषयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रिय कार्यालयलाई समेत हालसम्म कुनै निर्देशन दिएको छैन । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले अहिलेसम्म कुनै निर्देशन प्राप्त नभएको मेरो खुसीलाई बताइन् । ‘यस वर्ष ३ हजार मेट्रिन टन खरिद गर्ने नियमित कार्यक्रम हो’ उनले भनिन ‘मन्त्रालयबाट अहिलेसम्म हामीलाई निर्देशन आएको छैन ।’ लकडाउनको समयमा कसरी बिक्रि गर्ने भन्ने स्पष्ट निर्देशन आए त्यही अनुसार सामाजिक दूरी कायम गरेर खरिद गर्ने सकिने उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार बाँके र बर्दियाका कृषकहरुले यतिबेला गहुँ काटेर भित्र्याउने अन्तिम तयारीमा छन् । करिब ९० प्रतिशत गहुँ काटिसकिएको केन्द्र प्रमुख सागर ढकालले बताए । बन्दाबन्दीका कारण गहुँ बिक्रि गर्न समस्या भए पनि स्थानीय प्रशासनले खरिद गर्न नरोक्ने उनले बताए । लकडाउन लम्बिँदै गएपछि विपन्न वर्गका साथै मध्यम वर्गीय परिवार समस्यामा पर्न थालेका छन् । लामो समयसम्म काम नभइ घरमा बस्दा भान्साको खपत बढेको छ भने कामकाज ठप्प भएपछि धेरै व्यक्ति बेखर्ची भएका छन् । गहुँ बिक्री गरेर घर खर्च चलाउने सोचमा रहेका जानकी गाउँपालिका वडा नम्वर ५ का कृषक सन्तोषकुमार वर्माले गहुँ बेचेर दैनिक उपभोग्य वस्तु किन्ने सोच भए पनि बन्दका कारण समस्या भएको बताए । ‘घरमा राख्दा एकातिर पानीमा भिजेर नोक्सान हुने जोखिम बढेको छ’ उनले भने ‘अर्कोतर्फ घरमा नगद रुपैया छैन, घरखर्च चलाउन समस्या छ ।’ सरकारले निश्चित नियम बनाएर गहुँ बिक्रि गर्ने व्यवस्था मिलाउनुपर्ने उनी बताउँछन ।