उपमहानगरमा झन्डै साढे १२ हजारलाई राहत वितरण

नेपालगन्ज : नेपालगन्ज उप-महानगरपालिकाले झन्डै साढे १२ हजार परिवारलाई राहात वितरण गरेको छ ।
उपमहानगरका प्रवक्ता प्रमोद रिजालका अनुसार नगरभित्र बसोबास गर्ने विपन्न, दैनिक ज्याला मजदुरी गर्ने, श्रमिक गरि १२ हजार ४०६ परिवारलाई राहत वितरण गरिएको हो । कतिपय वडामा विपन्न परिवारले आफूहरु छुटेको भन्दै निवेदन दिएका कारण राहत प्राप्त गर्नेको सङ्ख्या अझै बढ्ने बताइएको छ ।
उपमहानगरपालिकाले प्रति परिवार १५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, एक लिटर तेल, एक किलो नुन र एउटा सावुन वितरण गरेको हो । पहिलो चरणमा स्थायी बसोबास गर्ने विपन्न समुदायलाई र दोश्रो चरणमा नगर क्षेत्रमा भाडामा बस्ने दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्ग र विद्यार्थीका लागि राहत वितरण कार्य वडा कार्यालयमार्फत सुरु भएको छ ।