बर्दियामा एक महिनापछि खोप सेवा सुरु

जिल्ला अस्पताल गुलरियामा सेवा सुरु, वैशाख १९ गतेदेखि जिल्लाभरि नै नियमित खोप सेवा सन्चालन हुने, गेरुवा र राजापुरमा भने २ जेठदेखि खोप सेवा
गुलरियामा सन्तानलाई खोप लगाउन आएका महिलाहरु । फोटो : मुरली गोडिया

मुरली गोडिया । गुलरिया (बर्दिया)
बन्दाबन्दीका कारण बर्दिया जिल्लामा एक महिनादेखि रोकिएको खोप सेवा शुक्रबारदेखि सुरु हुने भएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार खोप कार्यक्रम सन्चालन नहुँदा पर्न सक्ने स्वास्थ्य समस्यालाई ध्यान दिँदै जिल्ला अस्पताल गुरियामा सेवा पुनः सुरु भइसकेको छ । अस्पतालमा खोप सेवा सुचारु भएपछि सेवाग्राहीको चाप पनि बढेको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा बाहेक जिल्लाका सबै खोप केन्द्रमा १९ वैशाखदेखि सेवा सन्चालन हुनेछ । गेरुवा र राजापुरमा भने २ जेठदेखि नियमित खोप सेवा शुरु गरिने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
‘खोप लगाउने कार्य नियमित गर्न नसकिए ठूलो स्रोत साधन परिचालन गरेर कम गरिएको बाल मृत्युदर पनि प्रभावित हुने चिन्ताले पनि खोप कार्यक्रम शुरु गरेका हौं’, प्रमुख गिरीले भन्छन्, ‘बालबालिकाहरुको खोप सेवा अत्यावश्यक र आधारभूत सेवामा पर्छ । जन्मेदेखि १५ महिनाका बालबालिकालाई बीसीजी, पोलियो, डीपीटी, दादुरा, निमोनियाविरुद्धका खोप लगाउने गरिन्छ ।
खोप कार्यक्रम सन्चालन गर्दा स्वास्थ्यकर्मीहरूले अनिवार्य मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाड नगरी खोप सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ । बन्दाबन्दीले अनेकौं समास्या भए पनि बालबालिकाका लागि खोप सन्चालन भएकोमा सेवाग्राही खुसी भएका छन् । बर्दिया जिल्लामा एक सय ९७ वटा खोप केन्द्र छन् ।