बागेश्वरी मन्दिरका मूल महन्तसहित ४० जनाको कोरोना परीक्षण

मैले आफै टेस्ट गराएको छु । मन्दिरमा रहेका हाम्रा स्टाफहरुले पनि टेस्ट गरेका छन् । यो धर्म, स्वास्थ्य र नीति संगत छ : चन्दनाथ योगी मूल महन्त, बागेश्वरी मन्दिर
बागेश्वरी मन्दिर परिसरमा मूल महन्त चन्दनाथ योगीलगायतबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिँदै । फोटो : मेरो खुसी

नेपालगन्ज : बागेश्वरी मन्दिरका मूल महन्त चन्दनाथ योगी, मन्दिरका पूजारी र कर्मचारी गरी सात जनाको कोरोना परीक्षणका लागि स्वाब संंकलन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले बिहीबार मन्दिर परिसरमा परिसरबाट हिन्दु धर्मगुरुसहित जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा रहेका व्यक्तिहरु गरी ४० जनाको कोरोना जाँचका लागि स्वाब संकलन गरेको कार्यालयका कोरोना फोकल पर्र्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
स्वाब संकलनपछि सन्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्दिरका मूल महन्त योगीले भने, ‘मैले आफै टेस्ट गराएको छु । मन्दिरमा रहेका हाम्रा स्टाफहरुले पनि परीक्षण गरेका छन् । यो धर्म सम्मत् छ । स्वास्थ्य सम्मत् छ । नीति संगत छ ।’
नेपालगन्जको दशगजामा २३ बसेर घर फर्केका बैजनाथ गाउँपालिकाका ११ जना, डुडुवाको हिरमिनियाँस्थित क्वारेन्टाइनमा रहेका १५ जना, उदयपुरका ३ जनालगायतका रहेका छन् ।
कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपाली सेनाका नकुल थापा, नेपाल प्रहरीका बाँके प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक दीपक अधिकारी, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, मुस्लिम धर्मगुरु अब्दुल जब्बार मञ्जरी, मुस्लिम आयोग अनुगमन समितिका संयोजक अब्दुल हमिद सिद्धिकी र सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।