समाचार प्रभाव : नीलसागरलाई सहयोग आउन सुरु

द ग्लोक्सी दरबार होटलका सन्चालक तेजप्रसाद रेग्मी, प्रशान्त लामिछाने र बावुराम भट्टराई

मेरो खुसी संवाददाता
नेपालगन्ज : बाँकेको नीलसागर वृद्धाश्रम तथा असहाय सेवा केन्द्रमा सहयोग आउन सुरु भएको छ ।
मेरो खुसी डटकमले शुक्रबार प्रकाशित गरेको नीलसागर वृद्धाश्रम आर्थिक संंटकमा शीर्षकको समाचार पढेर शनिबार सहयोगी मनहरु नीलसागरमा सहयोग गर्न गएका हुन् ।

लायन तथा स्वास्थ्यकर्मी शेम शाक्य र उहाँकी पत्नी सरिता शाक्य

केन्द्रका सचिव नारायणप्रसाद सुवेदीका अनुसार चार जनाले सहयोग गरेका हुन् । द ग्लोक्सी दरबार होटलका सन्चालक तेजप्रसाद रेग्मी, प्रशान्त लामिछाने र बावुराम भट्टराईले ५ बोरा चामल, १० किलो दाल, बिस्कुट, तेल, लुगा धुने सर्फलगायतका सामानहरु नीलसागर अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गरेका थिए । त्यसैगरी लायन तथा स्वास्थ्यकर्मी शेम शाक्य र उहाँकी पत्नी सरिता शाक्यले गेडागुडी, बिस्कुट, तेललगायत खाजाका सामानहरु उपलब्ध गराएका थिए । एकलैनीका ब्रिजेश गुप्ताले चार थान झुल र खाद्यान्न किन्नका लागि चार हजार रुपैयाँ सहयोग गरे । फुल्टेक्रा निवासी दिवाकर थापाले पनि दुई बोरा चामल उपलब्ध गराएका थिए । शनिबार नै भेरी अस्पताल नेपालगन्जले एक जना नर्स खटाएर नीलसागरमा रहेका सबै जनाको ज्वरो जाँच गरेको थियो । कसैमा पनि सय डिग्री भन्दा बढी नभएको नीलसागरले जनाएको छ ।

जन्मदिन, विवाह उत्सव, वार्षिकोत्सवलगायतका बेला नीलसागरलाई सहयोग गर्नेहरु लकडाउनपछि आउन छोडेपछि आश्रममा घरभाडा, खाना, खाजा, लुगालत्ता, विद्यार्थीको शुल्क र औषधोपचारमा समस्या भइरहेको छ । नीलसागरको नेपालगन्ज (८१), कोहलपुर (२४), बर्दियाको गुलरिया (२८) र दाङ (४८) शाखामा गरी एक सय ८१ जना रहेका छन् ।