होसियार, ‘ज्वरो छैन, कोरोना छैन भनेर ढुक्क नहुनुस् !’

दि न्यू इंगलेन्ड जर्नल अफ मेडिसिन जर्नलमा प्रकाशित अध्ययनले भन्छ : संक्रमितमध्ये ५६.२ प्रतिशतलाई सुरुमा ज्वरो आएन र ११.३ प्रतिशत संक्रमितलाई त ज्वरो नै देखिएन

मेरो खुसी संवाददाता

नेपालगन्ज : कोरोना भाइरसका धेरै लक्षणमध्ये १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु पनि एक हो । कोरोना प्रभावित देशबाट आउनु भएको छ वा कोरोना संक्रमितसँग तपाईको हेलमेल भइरहेको छ भने ज्वरो नआउँदैमा कोरोना छैन भनेर तपाई ढुक्क नहुुनुस् । कोरोना बाहक भएर तपाईले पनि रोग अरुलाई सारिरहेको हुनसक्ने एक अध्ययनले देखाएको छ ।

कोभिड १९ बारे चीनको वुहानका एक हजार ९९ जना बिरामीमा गरिएको अनुसन्धानमूलक लेख दि न्यू इंगलेन्ड जर्नल अफ मेडिसिन जर्नलमा प्रकाशित भएको छ । कोरोना भाइरस रोगका लक्षणमा आधारित ‘क्लिनिकल क्यारेक्ट्रिटिस अफ कोरोना भाइरस डिजिज २०१९ इन चाइना’ शीर्षकमा प्रकाशित अनुसन्धानमूलक लेख १२ जना प्राध्यापक र विशेषज्ञ डाक्टर सम्मिलित चिनियाँ मेडिकल उपचारमा संलग्न विज्ञ समूहले तयार गरेका हो ।

अध्ययन भन्छ, ‘कोरोनाका बिरामीमध्ये ८८.७ लाई मात्र ज्वरो आएको थियो । जबकी ११.३ प्रतिशतलाई त ज्वरो नै आएन । यीमध्ये पनि भर्ना हुन आएको बखतमा ४३.८ प्रतिशतलाई मात्र ज्वरो आएको थियो । जबकी ५६.२ प्रतिशतलाई सुरुमा ज्वरो नै देखिएन ।’

‘यो अध्ययनबाट के प्रष्ट हुन्छ भने ज्वरो आउँदैमा मात्र कोरोना हुन्छ भन्ने हाम्रो बुझाइ शतप्रतिशत ठीक छैन’, भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डे भन्छन्, ‘अब कोरोना प्रभावित देशबाट आएका व्यक्ति, उसको परिवारका सदस्य, उनीहरुसँग सम्पर्कमा भएका सबै व्यक्तिहरुको कोरोना जाँच गर्न जरुरी छ ।’

डा.पाण्डेका अनुसार बाग्लुङमा कोरोना संक्रमित युवती विदेशबाट आएको दुई सातापछि मात्र कोरोनाको लक्षण भेटिएको थियो । कैलालीमा परिवारका सदस्यमा कोरोना संक्रमण सरेको भेटिएको छ । यी दुई केशका आधारमा विदेशबाट आएका व्यक्ति, परिवार र उनीहरु जहाँजहाँ सम्पर्कमा गए ती सबै ब्यक्तिहरुको कोरोना जाँच गर्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘विश्व स्वास्थ्य संगठनले पनि कोरोना थाहा पाउने एक मात्र उपाय टेस्ट, टेस्ट र टेस्ट नै भनेको छ ।’ १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु, खोकी लाग्नु, स्याँस्याँ हुनु कोरोना भाइरसका लक्षण हुन । संक्रमणले जटिल अवस्थामा पुग्दा निमोनिया हुनुका साथै सास फेर्न कठिनाइ हुन्छ । सघन संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु पनि हुनसक्छ । मौसमी रुघाखोकीका आधारमा पनि यस्ता लक्षण देखिने भएकाले कोरोना हो, होइन भनेर निक्यौंल गर्न कोरोना जाँच नै गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको पनि सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *