भारत नानपाराको क्वारेन्टाइनमा रहेका नेपालीलाई नेपालमै व्यवस्था गर्न उच्च अदालत नेपालगन्जको आदेश
नेपालगन्ज : उच्च अदालत तुतसीपुर नेपालगन्ज इजलासले भारतको नानपारास्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई नेपालमै ल्याएर क्वारेन्टाइनमा राख्न सम्बद्ध सरकारी निकायलाई आदेश दिएको छ ।
नेपाल–भारत सिमावर्ती क्षेत्रमा रहेका नेपाली नागरिकको स्वस्थ र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चित गर्न न्यायाधीश पवनकुमार शर्मा न्यौपानेको एकल इजलाशले शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँके–बर्दिया, जिल्ला विपद् व्यवस्थापन समिति बाँके, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश ५ बुटवलसमेत १८ निकायलाई अन्तरिम आदेश दिएको हो । अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश दिएको छ ।
अधिवक्ताहरु वसन्त गौतम, सुनिलकुमार क्षेष्ठ, प्रहलादबहादुर कार्की, विकास आचार्य, चित्रबहादुर शाही, बलबहादुर चन्द, विश्वजीत तिवारीले जिल्ला प्रशासन कार्यालय बाँके, बर्दिया, जिल्ला विपद् व्यवस्थापन समिति बाँके, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ५ नं. प्रदेश, वुटवलसमेत १८ निकायलाई विपक्षी बनाएर स्वास्थ्यको हित र सम्मापूर्वक बाँच्न पाउने हक रक्षार्थ निवेदन दर्ता गरेका थिए ।