१ लाख नाध्यो कोरोनाबाट मृतकको संख्या

अमेरिकामा १८ हजार, इटलीमा १८ हजार ८४९ र भारतमा २२९ पुग्यो
स्केच : इन्टरनेटबाट

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) को महामारीबाट विश्वमा मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।
कोरोना भाइरसको विश्वव्यापी अपडेट गर्ने साइट वल्र्डोमिटरर्स डट इन्फोले शुक्रबार राति ११ः३० बजेसम्म गरेको अपडेटमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख एक हजार चार सय ७४ रहेको जनाएको छ । एकैदिन पाँच हजार सात सय ८२ जनाको मृत्यु भएको छ । जसमा एकैदिन सबैभन्दा बढी अमेरिकामा एक हजार तीन सय नौ जनाको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुने १८ हजार पुगेका छन् । जुन विश्वमा सबैभन्दा बढी मृत्यु हुने इटलीको हाराहारीमा पुगेको छ । इटलीमा मृतकको संख्या १८ हजार आठ सय ४९ पुगेको छ ।
छिमेकी भारतमा मृत्यु हुनेको संख्या दुई सय २९ पुगेको छ । शुक्रबार मात्र थप दुई जनाको मृत्यु भएको छ । नेपालमा भने संक्रमितहरुको संख्या एक हप्तामा नौ जनामै स्थिर देखिएको छ । त्यसमा पनि एक जना निको भएर घर फर्किसकेका छन् ।