गहुँ काट्न किसानलाई सशस्त्र प्रहरीको सुरक्षा !

सीमामा संयुक्त गस्ती गर्दै सशस्त्र प्रहरी र एसएसबीका जवानहरु । फोटो सौजन्य : सौरभ गिरी

साइगाउँ (बाँके) : बाँकेको सीमावर्ती गाउँका नेपाली किसानले भारतमा रहेको आफ्नो जग्गाको गहुँ काट्न सशस्त्र प्रहरी बलको सुरक्षा पाउने भएका छन् ।
जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, जानकी, डुडुवा र नरैनापुर गाउँपालिकाको सीमावर्ती गाउँका किसानको जग्गा भारतमा पनि छ । उनीहरुलाई भारत सरकारले किसान बही नामक लालपूर्जा दिएर जग्गालाई मान्यता दिएको छ तर कोरोना भाइरसका कारण गहुँ पाकेर झर्ने बेला हुँदासम्म पनि काट्न नपाएपछि सुरक्षा घेरामा गहुँ काट्ने व्यवस्था मिलाउन लागेको सशस्त्र प्रहरी बलका एसपी दीपक अधिकारीले बताए । उनले भारतीय सीमा सुरक्षा बल एसएसबीसँग समन्वय गरेर गहुँ काट्ने व्यवस्था गर्न लागेको बताए । उनले भने, ‘कोरोना संक्रमण सर्ने आशंकामा गहुँ काट्न नदिएको हो । एउटा घरका चार पाँच जनालाई गहुँ काट्न पठाएर सोही दिन बोकेर ल्याउने गरी व्यवस्था मिलाउँदैछौं । एउटा ठाउँमा कम्ती दुई जना सुरक्षाकर्मी खटाइनेछ ।’
शुक्रबार समाचार संकलनका लागि जानकी गाउँपालिका १ साइगाउँका दीलिपकुमार वर्मा र गुलाम रसुल दर्जीले भारतको खेतको गहुँ काट्न नपाएको दुःखेसो गरेका थिए । जानकी १ का वडा अध्यक्ष मोहम्मद रजा राईले पनि भारतमा जग्गा हुने नेपाली किसानले गहुँ काट्न नपाएको बारे सरकारले व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।