विदेशमा अलपत्र नेपालीलाई किन स्वदेश फिर्ता ल्याउने ?
देशमा राजनीतिक परिवर्तनका लागि ठूल्ठूला आन्दोलनहरु भए । देशको व्यवस्था पनि परिवर्तन भयो । तथापि देशमा गरिब र गरिखाने वर्गका समस्या ज्यूका त्यू भए । उनीहरुले परिवर्तनको महसुस गरेनन् । जसको परिणाम स्वरुप नेपालीको उत्पादनशील जनशक्ति विदेश पलायन हुन बाध्य भयो । देशमा राजनीतिक परिवर्तनको आन्दोलन गर्ने ठूलो हिस्सा युवा शक्ति जिविकोपार्जनको लागि विश्वका विभिन्न मुलुकमा छन् । अहिले विश्व नै कोरोना भाइरसको माहामारीले ग्रस्त भएको छ । यस्तो बेला प्रवासमा रहेका धेरै नेपाली दाजुभाइले आफ्नो रोजगारीसमेत गुमाएका छन् । उनीहरु गासबासको पीडा झेलेको खबर हामीले सामाजिक सन्जाल र विभिन्न सञ्चार माध्यममा देखिरहेका र सुनिरहेका छौ। विशेष गरि भारत र खाडी मुलुकका नेपाली कामदार ठूलो समस्या र पीडामा परेका छन् ।
विश्वका धेरै मुलुकले अन्य देशमा रहेका आफ्ना नागरिकलाई आफ्नो मुलुकमा फिर्ता ल्याएका थुप्रै दृष्टान्त हामीले देखिरहेका छौं । भुटानले नेपालमा रहेका ३ जना आफ्ना नागरिकलाई स्वदेशमा लैजान एउटा विमान नै पठाएको खबर हामीले यति चाँडै बिर्सेका छैनौं । भारतमा चौकादारी गर्ने, मजदुरी गर्ने, विद्यार्थी, औषधि उपचारको लागि गएका र अन्य पेशामा आबद्ध भएर अहिले बेरोजगार रहेका नागरिकलाई खान र बस्नसमेत अप्ठ्यारो परिरहेको खबर आइररहेका छन् । त्यस्तै खाडी मुलुकमा रोजगारी गुमाएर समस्यामा परेका नागरिकको पीडाका पनि अनगिन्ती कथाहरु छन् । कतिपय नेपाली दाजुभाइहरु भारतका विभिन्न राज्यबाट पैदल नै नेपालका लागि हिँडेको खबर पनि सञ्चार माध्यममा आएका छन् । त्यो विषय अझैं नेपाल सरकार जिम्मेवार र गम्भीर भएको कहिँ कतै देखिँदैन । अब कति पनि बिलम्ब नगरी नेपाल सरकारले भारत सरकार र अन्य मुलुकको सरकारसँग कुटनीतिक पहलमार्फत आफ्ना सम्पूर्ण संयन्त्रलाई क्रियाशील बनाएर नेपाल ल्याउनैपर्छ। विशेष गरि भारतमा कति र कुन ठाउँमा कतिको संख्यामा नेपाली नागरिक छन् भन्ने एकिन तथ्यांक नेपाल सरकारसँग छैन। त्यसको लागि नेपाल सरकारले प्रदेश सरकार र स्थानीय तहसँग यथाशीघ्र समन्वय गरि तथ्यांक निकाल्न सक्छ। अन्य मुलुकको हकमा नेपाल सरकारसँग एकिन तथ्यांक भएको हुँदा त्यति समस्या नपर्ला। तथ्यांक निकाली सकेपछि सम्बन्धित देशको सरकारसँग समन्वय गरि सम्बन्धित देशमा रहेका नेपाली दूतावासमार्फत समस्यामा परेका नागरिकको पहिचान गरि नेपालसम्म ल्याउन सम्भव छ । त्यो यथाशीघ्र नेपाल सरकारले गरोस् । तथापि अहिलेको सरकार यो विषयमा कानमा तेल हाले झै गरि निदाएको छ। यदि यो समस्यालाई सरकारले प्राथमिकता र गम्भीरताका साथ लिएन भने त्यसबाट सृजना हुनसक्ने परिणामको जिम्मेवार पनि यो सरकार हुनेछ । जहाँसम्म विदेशमा रहेका दाजुभाइलाई नेपाल भित्र्याउँदा कोरोना पनि भित्रिने सम्भावनाको कुरो छ, त्यसको लागि प्रदेश सरकार र स्थानीय तहले आफ्नो आफ्नो क्षेत्रमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको क्वारेन्टाइन बनाउनु पर्छ । जसको लागि तीनै तहका सरकारले आफ्नो सम्पूर्ण संयन्त्रलाई कृयाशील गराएर कार्य थालियो भने छोटो समयमा यो काम गर्न सम्भव छ।
अन्त्यमा, प्रवासबाट फर्कने दाजुभाइहरुमा कोरोना फ़ैलिने त्रास मात्र होइन । अहिलेको अवस्थामा देशको अर्थतन्त्रलाई नै टेवा पुग्ने एउटा अवसर र सम्भावना पनि भित्रिनेछ। कोरोनाको महामारी र लकडाउनको प्रभावले नेपाल मात्र होइन विश्वको अर्थतन्त्रलाई पनि ठूलो क्षति पुग्ने निश्चित छ। अब आउने देशको बजेटमा कृषि र अन्य उत्पादनमूूलक क्षेत्रमा केन्द्रीत गर्नको विकल्प नरहेको अवस्थामा नेपाल सरकारले त्यो उत्पादनशील जनशक्तिलाई कृषि तथा अन्य उत्पादनमूलक क्षेत्रमा जोड्न सक्ने यो ठूलो अवसर हो । देशमा दक्ष जनशक्तिको अभाव रहेको बेला विदेशबाट सीप सिकेर आएका दक्ष कामदारले आफ्नो दक्षता अनुसारको काम गरेर देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ। तसर्थ, चुनावको बेला मात्र जनताको खाँचो पर्ने नेतालाई अब आफ्नो गुन तिर्ने बेला भएको छ। प्रवासमा रहनु भएका दाजुभाइलाई अहिले आफ्नो सरकारको आवश्यकता र खाँचो महसुस भएको छ। अब प्रवासमा रहेका दाजुभाइलाई नेपालमै बस्ने बतावरण बनाउन नसकेर पलायन गराए पनि यथाशीघ्र यो पीडाको घडीमा उहाँहरुलाई स्वदेश फिर्ता ल्याउनको अर्को विकल्प छैन। सरकारले जतिसक्दो चाँडो प्रवासमा पीडादायी अवस्थामा रहेका सम्पूर्ण दाजुभाइलाई फिर्ता ल्याउनैपर्छ। देशको परिवर्तनका आन्दोलनका हिस्सेदारलाई अप्ठारोमा परेका बेला सरकारले केही गर्ने र आफ्नो जिम्मेवारी पूरा गर्ने बेला भएको छ। सरकार चाँडै निद्राबाट ब्युझियोस् । भगवान पशुपतिनाथले सबैको रक्षा गरुन् ।