जनप्रतिनिधिसहित २०० भन्दा बढीको कोरोना परीक्षण

नेपालगन्जका १६२ जनाको स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइयो
फोटो सौजन्य : मधु पौडेल

 

नेपालगन्ज : नेपालगन्जमा शनिबार जनप्रतिनिधिहरुसहित एकैदिन दुई सयभन्दा बढी जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिँदैछ ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार अपरान्हसम्म नगरभवन (टाँगा स्टेशन)मा एक सय ६२ जनाको थ्रोट स्वाब संकलन गरिएकोे थियो । ती सबै जनाको स्वाब शनिबार नै नेपाली सेनाको विमानबाट शनिबार नै परीक्षणका लागि काठमाडौं पठाइएको छ । शनिबार नै जामा मस्जिद क्षेत्रमा पनि एक सयभन्दा बढीको नमूना संकलन गर्ने लक्ष्य छ ।
नगर प्रमुख डा.धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रदेशसभा सदस्य याकूब अन्सारीका साथै विभिन्न वडाध्यक्षहरुको कोरोना परीक्षण गरिएको थियो ।
संक्रमित ब्यक्तिको सम्पर्कमा आएका अन्य ब्यक्ति तथा समुदायमा कन्ट्याक्ट ट्रेसिङका आधारमा त्यहाँ धेरै जनाको कोरोना परीक्षण गर्नुपर्ने भए पनि सबैको परीक्षण हुन सकेको छैन ।
जनमानसमा कोरोना परीक्षणबारे परेको नकारात्मक बुझाइलाई स्पष्ट पारी भ्रम हटाउन संक्रमित क्षेत्रमै गएर आफूहरुले समेत परीक्षण गरेको उपप्रमुख थापा मगरले बताइन् । १९ वैशाखमा नेपालगन्जमा पहिलो व्यक्तिमा संक्रमण देखिएपछि त्यस यता शनिबारसम्म २४ जना संक्रमित भेटिएका छन ।