एकैदिन २३७ को कोरोना परीक्षण, ५६ को रिपोर्ट नेगेटिभ

नेपालगन्ज १२ का वडाध्यक्ष वुद्धिसागर सुवेदीको स्वाब संकलन गरिँदै । फोटो : सौजन्य मधु पौडेल

नेपालगन्ज : शनिबार नेपालगन्जमा एकैदिन दुई ठाउँबाट दुई सय ३७ जनाको कोरोना परीक्षण गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार टाँगा स्टेशनबाट एक स ६२ जनाको र नेपालगन्ज ३ जामा मस्जिदमा ७५ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
टाँगा स्टेशनमा संकलन गरिएका नमूनाहरुमा नेपालगन्ज ८ का झन्डै ६० जना रहेको नेपालगन्जका पूर्व उपप्रमुख समसुद्दिन सिद्धिकीले बताए । संक्रमितसँग सम्पर्कमा रहेका अझैै केही घरबाट कोरोना परीक्षण गर्न मानेका छैैनन् । सोही टोलीमा नगर प्रमुख डा.धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रदेश सभा सदस्य याकुब अन्सारीलगायतका जनप्रतिनिधि र वडा नं. ११ का वासिन्दा रहेका छन् ।
त्यसैगरी वडा नं. ३ का वडा अध्यक्ष मो.अयुव सिद्धिकीका अनुसार मुस्लिम धर्मगुरु, मस्जिदमा रहेका व्यक्ति र टोलवासी गरी ७५ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । बाँकी रहेकाहरुको अर्को दिन संकलन गरिने अध्यक्ष सिद्धिकीले बताए ।
बाँके जिल्लामा नेपालगन्जका विभिन्न स्थानमा संकलन गरिएका ५६ स्वाबको शनिबार रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बिहिबार नेपालगन्जको वीपी चोकबाट ४८ र नेपालगन्ज मेडिकल कलेजका ८ जनाको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको हो । संक्रमित ब्यक्तिको सम्पर्कमा आएका अन्य ब्यक्ति तथा समुदायमा कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन कार्य जारी छ ।