नरैनापुरका संक्रमित राख्ने स्थानको अझै टुंगो लागेन

५८ जना संक्रमित अब्यवस्थित रुपमा डेन्टल हस्पिटलको आइसोलेसनमा

नेपालगन्ज : बाँकेको नरैैनापुर गाउँपालिकामा सोमबार पुष्टि भएका ५९ जना कोरोना संक्रमित व्यक्तिहरुलाई राख्ने स्थानका विषयमा अझै टुंगो लाग्न सकेको छैन ।
संक्रमितहरुलाई राख्न गरिएको तयारीमा भएको ढिलाइका साथै स्थानीयले आफ्नो ठाउँमा राख्न नदिने भन्दै अवरोध गरेपछि उनीहरुलाई मंगलबार राति ११ बजेसम्म नरैनापुरबाट ल्याएर नेपालगन्जस्थित डेन्टल हस्पिटलको आइसोलेसनमा राखिएको छ । कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिनसम्म पनि आइसोलेसन व्यवस्थापनमा समस्या भएपछि मंगलबार राति नेपाली सेनासहितको टोलीले नेपालगन्ज ल्याएर राखिएको हो ।
मंगलबार दिउसो जिल्लास्थित सरोकारवालाहरुको बैठक बसेर २५ जनालाई नेपालगन्जस्थित लायन्स डेन्टल हस्पिटलको आइसोलेसन र बाँकी ३४ जनालाई कोहलपुर पिपरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने निर्णय भएको थियो । ३४ मध्ये एक जना नवजात शिशुसँगैकी महिला रहेकाले उनलाई भने खजुरास्थित क्यान्सर अस्पतालमा राखिएको छ ।
निर्णयसँगै कोहलपुरका स्थानीय विरोधमा उत्रिएपछि उनीहरुलाई मंगलबार मध्य रातिसम्म नेपालगन्जको लायन्स डेन्टल हस्पिटलको आइसोलेनमा राखिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । डेन्टल अस्पतालमा २५ जनाको मात्रै क्षमता भएकाले अहिले अव्यवस्थित रुपमा त्यहाँ राखिएको छ । सबैतिर स्थानीयले आफ्नो ठाउँमा राख्न नदिने भन्दै विरोध जनाउन थालेपछि समस्या भएको बताउँदै उनले उहाँहरुलाई कहाँ राख्ने भन्ने बारेमा उपयुक्त स्थानका लागि समन्वय भइरहेको बताए ।
नेपालगन्जमा रहेको आइसोलेसनमा ठाउँ अभाव भएपछि सोमबार उनीहरुलाई नरैनापुरस्थित लक्ष्मणपुर स्वास्थ्य चौकीमा राख्ने तयारी गरिएको थियो । बाँकेको दुर्गम मानिने त्यहाँ बिजुलीको समेत सुविधा नहुँदा समस्या हुने भन्दै नेपालगन्ज र कोहलपुरमा व्यवस्थापन गर्ने तयारी थालिए पनि हालसम्म व्यवस्थापन हुन सकेको छैन ।
सोमबार संक्रमण देखिए पनि समयमै व्यवस्थापन कार्य हुन नसक्दा संक्रमित ५९ जना व्यक्तिहरु २४ घण्टासम्म क्वारेन्टाइनभित्र अन्य सामान्य व्यक्तिसँगै बस्न बाध्य भएका थिए । यसले संक्रमित व्यक्तिसँगको सम्पर्कमा रहेका अरु व्यक्तिमा पनि कोरोना फैलिने खतरा बढेको छ । उनीहरुलाई मंगलबार बिहान मात्र त्यहाँबाट अलग राखिएको थियो । जिल्लास्थित सरोकारवालाहरुको पूर्व तयारीमा कमी हुनुका साथै स्थानीयको असहयोगका कारण संक्रमितहरुको व्यवस्थापन गर्न समस्या भएको छ ।