नरैनापुरमा एक प्रहरी जवानलाई कोरोना संक्रमण
नेपालगन्ज : बाँकेको नरैनापुरमा एक जना प्रहरी जवानलाई कोरोना संक्रमण भएको छ ।
शनिबार नरैनापुरमा कोरोना संक्रमण भएका २७ मध्ये एक जना प्रहरी भएको जिल्ला प्रहरीक कार्यालय बाँकेले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नरैनापुर गाउँपालिकाको कालाफाँटा प्रहरी चौकीमा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना संक्रमण भएको हो । उनीसँगै कोरोना परीक्षण गरेका २३ जना प्रहरीमध्ये धेरै जनाको रिपोेर्ट अझै आउन बाँकी रहेको प्रमुख ओलीले बताए ।
संक्रमित भएको प्रहरी चौकी शिल गरिएको र त्यहाँ रहेका अरु प्रहरीलाई क्वारेन्टाइनमा राख्ने तयारी भएको जिप्रका बाँकेले जनाएको छ ।
नरैनापुर गाउँपालिकामा शनिबारसम्म एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने एक जना २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
कोरोनाको अति जोखिममा रहेका नरैनापुरका प्रहरीसँग राम्रो माक्स पनि छैन । अधिकांश प्रहरीले कपडाको माक्स नै लगाउने गरेका छन् । प्रहरी प्रमुख ओली नै नरैनापुरमा तीन चार वटा मात्र एनके ९५ माक्स उपलब्ध गराएको बताउँछन् । नरैनापुरमा कार्यरत प्रहरीले माक्स, पञ्जा, सेनिटाइजरहरुको अभाव भएको बताएका छन् ।