बर्दिया जिल्ला अस्पतालका २० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, इमरजेन्सी बाहेकको सबै स्वास्थ्य सेवा प्रभावित

फोटो : इन्टरनेटबाट

विष्णु अधिकारी । गुलरिया
बर्दिया जिल्ला अस्पतालका २० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा बसेपछि अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालले इमरजेन्सी बाहेकको सबै स्वास्थ्य सेवा बन्द गरेको छ ।
सोमबार गुलरिया नगरपालिकामा तीन जना नयाँ कारोना संक्रमित पुष्टि भएसँगै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । गुलरिया १ को क्वारेन्टाइनमा बसेका १८ वर्षका पृुरुषलाई ज्वरो अएपछि अस्पतालमा भर्ना गरिएको थियो । संक्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको हो । अस्पतालमा कार्यरत १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा र ६ जनालाई होम क्वारेन्टाइनमा राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डे बताए ।
जिल्ला अस्पतालमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिने जिल्ला अस्पताल बर्दियाले जनाएको छ । कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्र अस्पतालको अन्य सेवा सृुचारु हुने अस्पाल प्रमुख पाण्डेले बताएका छन् ।
सोमबार गुलरिया नगरपालिका वडा नं. १० का २२ र २५ वर्षका पुरुषका साथै वडा नं. १ का १८ वर्षका पुरुषमा कारोना संक्रमणको पुष्टि भएको थियो । गुलरिया १० का दुई संक्रमित भारतको मुम्बईबाट आएर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्रयागपुरमा रहेको क्वारेन्टाइनमा बसेको वडाध्यक्ष वीरेन्द्रकुमार थारुले बताए । उनीहरु गत जेठ २ र ५ गते नेपालमा आएका हुन् ।
गुलरिया नगरपालिका १ का १८ वर्षका पुरुष भारतको बैंगलोरबाट आएका थिए । उनी गुलरिया १ मा रहेको श्री शम्भु शरण माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।
बर्दिया जिल्लामा गुलरिया नगरपालिकामा ४, बाँसगढी नगरपालिका, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा एक एक जना गरी ७ जनामा कोरोना पुष्टि भएको छ ।