पत्रकारसहित बाँकेमा ८ जनामा कोरोना

आफूलाई कोरोना संक्रमण भएको भन्दा पनि स्थानीय तहका पदाधिकारीले स्वास्थ्य अवस्थाबारे कुनै चासो नदेखाएकोमा पीर लागेको छ : संक्रमित पत्रकार

नेपालगन्ज : बाँके जिल्लामा मंगलबार एक पत्रकारसहित ८ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका २ मा बस्ने पत्रकारको सोमबार नै कोेरोना पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले अपरान्ह ४ बजेपछि भिडियो पत्रकार सम्मेलनमा पुष्टि गरेका हुन् ।
त्यसैगरी बैजनाथ गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमण भएको छ । बैजनाथ ३ का ३० वर्षका पुरुषमा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको हो । डुडुवामा ४ जना, राप्ती सोनारीमा २ जनाको पनि मंगलबार कोरोना पुष्टि भएको हो ।
गत ११ जेठमा बाँकेमा एक जना नर्सलाई कोरोना संक्रमण भएको थियो । संक्रमित नर्सका पति र दुई सन्तान (छोरी र छोरा)को थ्रोट स्वाबबाट कोरोना परीक्षण गर्दा पतिमा पनि सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । दुबै जनालाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा रहेका संक्रमित पत्रकारले मोबाइल सम्पर्कमा भने, ‘हामी पतिपत्नी दुबैको स्वास्थ्य अवस्था राम्रो छ । कुनै स्वास्थ्य समस्या छैनन् ।’
पत्रकारलाई आफूलाई कोरोना संक्रमण भएको भन्दा पनि स्थानीय तहका पदाधिकारीले स्वास्थ्य अवस्थाबारे कुनै चासो नदेखाएकोमा पीर लागेको छ । ‘नेपालगन्जको एउटै वडाका पति पत्नीमा कोरोना संक्रमण हुँदा पनि नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष कसैले पनि चासो दिएका छैनन् । कसैले सोधपुछ पनि गरेनन्’, उनले दुःखेसो पोखे, ‘कोरोना पोजेटिभ भएको खबर पाउँदा सुरुमा डर लाग्यो । खुट्टा थर्थर काँपे । कोरोनाबारे सबै कुुरा थाहा पाएका हामीलाई त यस्तोे मनोवैज्ञानिक त्रास हुँदो रहेछ । सर्वसाधारणको अवस्था के हुन्छ होला ? यस्तो बेलामा जनप्रतिनिधिले सान्वना दिनुपर्ने होइन त ?’ कोरोना संक्रमण टोलमा फैलिने खतरा हुने भएकाले पनि जनप्रतिनिधिले चासो लिनुपर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *