नेपालगन्जमा दुई दिनदेखि ‘लु’ चल्न सुरु

बाँकेको मौसम मापन गर्दै जल तथा मौसम विज्ञान विभागको हावापानी फिल्ड कार्यालय प्रमुख पलबहादुर विक । फोटो : मेरो खुसी

नेपालगन्ज : बाँकेमा दुई दिनदेखि तातो हावा ‘लु’ चलेको छ । पंखाले समेत तातो हावा फाल्ने गरेको छ । दिनमा धेरै लामो समयसम्म विद्युत जाने भएकाले नागरिकलाई सास्ती भइरहेको छ ।
जल तथा मौैसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका अनुसार दुई दिनयता ४१ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहेको छ । कार्यालयका प्रमुख पलबहादुर विकका अनुसार सोमबार नेपालगन्जको अधिकतम् तापक्रम ४१.५ डिग्री सेल्सियस थियो । न्यूनतम् तापक्रम भने २४.८ थियो । मंगलबार तापक्रम झन बढेको छ ।
कार्यालयका नायब मौसम विज्ञान सहायक योजना बस्ताकोटीका अनुसार ४१.८ डिग्री सेल्सियस तापक्रम भयो । जबकी न्यूनतम् तापक्रम भने २४.२ मात्र थियो । यो वर्षको सर्वाधिक तापक्रम नै मंगलबार मापन गरिएको थियो । जबकी गत वर्षसँग तुलना गरेर हेर्ने हो भने २० मे २०१९ मा ४३।५ डिग्री सेल्सियस तापक्रम रहेको थियो । सन् २०१२ मा भने भने नेपालगन्जको तापक्रम ४५ डिग्री पुगेको थियो ।