बर्दियामा तयार भयो सुविधा सम्पन्न आईसोलेसन सेन्टर

  बर्दिया : कोरोना भाइरसको जोखिममा रहेको बर्दियामा सुविधा सम्पन्न जिल्लास्तरीय आइसोलेसन सेन्टर तयार भएको छ । गुलरिया नगरपालिका वडा नम्वर ५ स्थित जिल्ला समन्वय समितिको हलमा २६ बेडको सुविधा सम्पन्न आईसोलेसन सेन्टर तयार गरिएको हो । सेन्टरमा ईन्टरनेट सुविधाका लागि वाईफाईका साथै एसी जडान, खानेपानी, स्वास्थ सुरक्षा सामाग्रीको व्यवस्था गरिएको जिल्ला समन्वय समिति बर्दियाका प्रमुख एवम आईसोलन कक्ष तयारी समितिका संयोजक शंकरप्रसाद चौधरीले बताए । आईसोलेसन सेन्टर निर्माणका लागि जिल्लाका आठवटै स्थानीयतहले ५/५ लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । प्रतिबद्धता अनुसारको रकम प्राप्त नभएपनि हाल उधारोमै सामाग्री खरिद गरेर आइसोलेसन तयार गर्न सफल भएको प्रमुख चौधरीको भनाई छ । केहीदिन अघि जिल्लाको राजापुर नगरपालिकाकी एक बालिकामा कोरोना संक्रमण देखिएपछि बाँकेकोे खजुरामा ठाउँ नभएर दाँङको बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा पठाउने तयारी गर्दा त्यहाँ राख्न नमानेपछि बर्दियामै आईसोलेसन बनाउने तयारी थालिएको थियो ।

आइसोलेसन निर्माणका लागि बर्दियाका स्थानीयतह हरुले पनि पहल थालेका छन । जिल्लाको बारबर्दिया नगरपालिका र बाँसगढी नगरपालिकाले पनि १०÷१० बेडको आइसोलेसन कक्ष तयार गरीसकेको प्रमुख चौधरीले बताए । ‘ठाकुरबाबा र राजापुरमा पनि प्रकृयामा रहेको छ’ उनले   भने । ‘अब बर्दियामा संक्रमित भेटीएमा जिल्लामै आइसोलेसनमा राखेर उपचार हुनेछ ।’ आइसोलेसन कक्ष तयार भएपनि जिल्लामा स्वास्थ्यकर्मीको भने अभाव हुने देखिएको छ । हाल जिल्ला अस्पतालले स्वास्थ्यकर्मी परिचालन गरेपनि संक्रमितको संख्या बढ्दै गए समस्या हुने भएको छ ।

फोटोः भिम उचै ठकुरी