क्वारेन्टाइनमा दुई छाक खाना घरबाटै !

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले क्वारेन्टाइनमा बसेका व्यक्तिको खाना घरबाटै ल्याउने व्यवस्था गरेको छ ।
गाउँपालिकाले हरेक वडामा क्वारेन्टाइन बनाएर साँझ बिहानको खाना क्वारेन्टाइनमा बसेका ब्यक्तिकै परिवारले खुवाउने व्यवस्था गरेको अध्यक्ष किश्मतकुमार कक्षपतिले जानकारी दिए ।
प्रेस संगठन बाँकेले बुधबार आयोजना गरेको भर्चुअल प्रेस मिटमा अध्यक्ष कक्षपतिले घरमा खाद्यान्न नभएका परिवारलाई गाउँपालिकाले घरमै खाद्यान्न पठाउने व्यवस्था गरेको बताए । ‘नास्ता गाउँपालिकाले नै दिइरहेको छ । साँझ बिहानको खाना सबैको घरबाट आइरहेको छ’, अध्यक्ष कक्षपतिले भने, ‘भारतबाट आउँदै गर्दा पनि उहाँहरुले हामीलाई क्वारेन्टाइनमा राखिदिनुस् । खानाको व्यवस्था हामी आफैले गर्छौं भनेका थिए ।’ अध्यक्ष कक्षपतिले खाना घरबाटै खुवाउने गरी क्वारेन्टाइन व्यवस्थापन गरिरहेकोबारे प्रदेश ५ का मुख्यमन्त्रीलाई जानकारी दिएको बताएका छन् । खजुरा गाउँपालिको क्वारेन्टाइनमा ६ सय ९५ जनालाई राखिएको छ ।