देशमै सबैभन्दा बढी कोरोना संक्रमित प्रदेश २ मा (सूचीसहित)

नेपालगन्ज : बिहीबार एकैदिन ७ जिल्लाका ९३ जनामा कोरोना पुष्टि भएसँगै प्रदेश २ ले देशका सबै प्रदेशलाई कोरोना संंक्रमणमा उछिनेको छ । नेपालमा यसअघि प्रदेश ५ मा सबैभन्दा बढी कोरोना संक्रमित रहेकोमा बिहीबार भने प्रदेश २ ले उसलाई पनि ४६ जनाभन्दा बढी कोरोना संक्रमितले जितेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २ मा चार सय १५ र प्रदेश ५ मा तीन सय ६९ जनामा कोरोना पुष्टि भएको छ ।

बिहीबार मात्र प्रदेश २ का ८ जिल्लामध्ये सात जिल्लाका थप ९३ जनामा कोरोना भएको थियो । सबैभन्दा बढी धनुषामा २९ र सबैभन्दा कम सप्तरीमा दुई जनामा कोरोना भएको पुष्टि भएको मन्त्रालयले जनाएको थियो । प्रदेशका सबै जिल्लामा कोरोना संक्रमण हुने प्रदेश मात्र हो । प्रदेश १ का ८, प्रदेश २ का ८ (सबै), बागमतिका १२, गण्डकीका ४, प्रदेश ५ का ९, कर्णालीका ३ र सुदूरपश्चिमका ७ जिल्ला गरी देशका ५१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।