बर्दियामा शुरु भयो बेल सर्वत उत्पादन

लकडाउनका कारण ७५ प्रतिशत उत्पादन घट्ने

बर्दिया: बर्दियामा बेल सर्वत उद्योग संचालनमा आएको छ । लकडाउनका कारण बन्द रहेको सर्वत उद्योग सामाजिक दुरी कायम राखेर बिहिबार देखि संचालनमा आएको हो । लामो समयसम्म उद्योग बन्द भएपछि मधुवन नगरपालिकाले सर्तकता अपनाएर उद्योग संचालन गर्न सुझाएको थियो । बेल सर्वत उत्पादन शुरुभएपनि लामो समयसम्मको लकडाउनका कारण उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ नहुँदा यसबर्ष ७५ प्रतिशत उत्पादन घट्ने नवदुर्गा सामुदायिक बेल उद्योगले जनाएको छ । सौगात सर्वत प्याकेजिंग गर्ने बोतल आयात गर्न नसक्दा यसबर्ष २५ प्रतिशत मात्र उत्पादन हुने उद्योगका अध्यक्ष कृष्ण परियारले बताए । ‘गतबर्ष २५ हजार बोतल सर्वत उत्पादन भएको थियो’ उनले भने ‘यसबर्ष लकडाउनका कारण काठमाण्डौंबाट बोतल ल्याउन सकिएको छैन, गतबर्ष बचेका ५/६ हजार बोतलमा मात्र यसबर्ष सर्वत उत्पादन हुनेछ ।’


उद्योगलाई आवश्यकपर्ने बेल प्रयाप्त मात्रामा भएपनि बन्दकाकारण बोतल लगायत कच्चापर्दाथ आयात गर्न नसक्दा उत्पादनमा ह्रास आउने सामुदायिक बेल सर्वत उद्योगले जनाएको छ । यसबर्ष उत्पादन घटेसंगै उद्योगमा कार्यरत जनशक्तीको रोजगारी पनि कटौती हुनेछ । यसअघि २५ जनाले रोजगारी पाउने गरेकोमा यसबर्षभने ज्यादै १०/१२ जनाले मात्र करिव एकहप्ताका लागि रोजगारी पाउने भएका छन । दिनहु यहाँका स्थानीय आफुहरुलाई काम दिनु प¥यो भनेर आउने गरेपनि उत्पादन नै नहुँने भएपछि धेरैजनाले रोजगारी गुमाउनु परेको उद्योगले जनाएको छ ।


लकडाउनका कारण यसबर्ष सामुदायिक बनमा प्रयाप्त बेल भएपनि उत्पादन गर्न नसकिने भएपछि बेल खेर जाने अवस्थामा रहेको अध्यक्ष परियारको भनाई छ । पहिला एकहप्तामा सय क्वीन्टल बेल टिपेर ल्याउथे, यसपाली दुईदिनमा डेढसय क्विन्टल बेल टिपेर ल्याएपनि उद्योगमा आवश्यकपर्ने सामान नहुँदा उत्पादन नहुने उनी बताउँछन । यसअघिका बर्षहरुमा यहाँ उत्पादन भएको सर्वत काठमाडौ, पोखरा, विराटनगर, धनगढी, नेपालगञ्जलगायतका बजारमा विक्रीका लागि जाने गरेपनि यसबर्ष भने जिल्लामै नपुग्ने अवस्थामा आएको छ । सरकारले साना तथा मझौला उद्योग पर्वद्धनमा चाँसो नदिँदा स्वास्थ्यकालागि उपयुक्त मानिने बेल सर्वत उद्योग धरासायी बन्दै गईरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । बर्दियाका २५ वटा सामुदायिक वनको सहकार्य र सहयोगमा नवदुर्गा सामुदायिक वन समुहले २०६२ साल देखि कृषि तथा सहकारी मन्त्रालय, कृषि उद्यम केन्द्र, उद्योग बाणिज्य संघ, पश्चिम तराई भुपरिधी विकास आयोजनाको संयुक्त पहलमा सरकारी निजी साझेदारी अवधारणामा एकगाउँ एक उत्पादन कार्यक्रम अन्र्तगत उद्योग सुरु गरेको हो ।
स्थानीय सामुदायिक वनले करिव २० लाखको लगानीमा संचालन गरेको उद्योगले स्थानीय स्तरमा रोजगारी मात्र नभई स्थानीय २५ ओटै सामुदायिक वनले बेल बेचेर आम्दानी समेत गर्दै आएका छन ।