‘होम क्वारेन्टाइन’का नाममा स्थानीयले बनाए ‘जंगलबास’

मानबहादुर ठकुल्ला । भजनी
क्वारेन्टाइनमा दुई साता बसेर कोरोना रिपोर्ट नेगेटिभ आएपछि एक साता होम क्वारेन्टाइनमा बस्नुपर्छ । कैलालीको भजनी नगरपालिका ५ का मिलनपुर टोलका ८ जना युवालाई भने स्थानीयले होम क्वारेन्टाइनका नाममा ‘जंगलबास’ बनाएर सास्ती दिएका छन् । उनीहरु सबै भारतको मुम्बइबाट आएका हुन् ।
क्वारेन्टाइनमा बसेका युवा रणबहादुर साउँद भन्छन्, ‘आफ्नै वडाको कर्मेश्वर मावि कुटीको क्वारेन्टाइन १४ दिन बस्यौं । -यापिड टेस्टबाट कोरोना रिपोर्ट आएपछि घर पठाइएको हो । टोलवासीले जंगल किनारमा ५ दिन बस्न भनेका छन् ।’
क्वारेन्टाइनबाट घर फर्केकै दिन स्थानीयले टोलदेखि एक सय मिटर टाढाको मिलन नर्सरी (सामुदायिक वन) को रुखमा त्रिपाल टाँगेर राखेका हुन् । क्वारेन्टाइनमा बसेकाहरुको खाना भने घरबाटै लैजाने व्यवस्था गरिएको छ । किशोर जोशी घरपरिवारको र युवाहरुको सल्लाह अनुसार अस्थायी क्वारेन्टाइन बनाइर राखिएको बताउँछन् । जौमति साउँदको चिन्ता थियो, ‘भारतबाट घर फर्कने नागरिकमा कोरोना संक्रमण देखिन थालेपछि अस्थायी होम क्वारेन्टाइन बनाएर राखिएको हो ।’