जमुनाहा नाकामा युनेस्कोद्वारा तयारी खाना वितरण सुरु

नेपालगन्ज : बाँके युनेस्को क्लबले भारतबाट घर फर्कने नेपालीहरुलाई नेपालगन्जको सीमा नाका जमुनाहामा तयारी खाना वितरण शुरु गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा युनेस्को क्लबले दुई पाकेट बिस्कुट, दुई सय ग्राम नमकिन, एउटा फलफूल, एक बोतल पानी, एउटा सर्जिकल माक्स र एउटा साबुन वितरण सुरु गरेको संस्थाका संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।
सीमा नाका जमुनाहामा विहिबार बिहान तयारी खाना वितरण गर्ने कार्यको शुभारम्भ प्रदेशसभा सभासद कृष्ण केसी नमूना, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांग, नेपाली सेनाका कर्णेल नकुल थापा र बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीलगायतले संयुक्त रुपमा गरेका थिए । बिहीबार दिउँसोसम्म ६ सय बढीलाई तयारी खाना वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताए । संस्थाले ३० हजार जनालाई वितरण गर्ने लक्ष्य लिएको छ ।