चैते धान भित्र्याउँदै किसान

मानबहादुर ठकुल्ला । भजनी
कैलालीको भजनी नगरपालिकामा किसानलाई धान काट्ने र रोप्ने दुबै चटारो एकैसाथ सुरु भएको छ ।
भजनी ३ का अधिकांश किसान अहिले खेतमै भेटिन्छन् । सबैलाई चैते धान भित्र्याउन हतार छ । यहाँका कोही किसानहरु रोपाइँमा ब्यस्त छन् भने कसैलार्इ चैते धान भित्र्याउन भ्याइ न भ्याइ छ । हुलाकी राजमार्ग बनेर पानीको बहाब रोकिएपछि सानो झरीमै पानी जम्न थालेकोले समस्या भएको भजनी ३ बर्दवाका किसान तपेन्द्र जैसी बताउँछन् ।
एक बिगाहा १० कट्टामा ४० कुन्टल धान उत्पादन भएको भजनी ७ हिम्मतपुरका सीताराम चौधरीले बताए । उनी भन्छन्, वर्षे धानभन्दा चैते धान आफूले अनुमान गरे भन्दा दोब्बर फलेको छ ।

चैते धान एक पटक काटेपछि पुनः फल्ने भएकोले केही मात्रामा भए पनि आम्दानी लिन सकिने अर्का किसान रामलाल चौधरी अनुभव सुनाउँछन् । धान लगाएको खेत जलमग्न भयो भने त्यो बालीबाट दोहोरो फाइदा लिन सकिँदैन ।
माटो चिम्टाइलो भएकोले बर्सातको पानी गहुँ लगाउने समयसम्म पनि नसुक्ने हुनाले चैते धानबालीमा मात्रै चित्त बुझाउनु परेको भजनी ३ धुसीकी जमुना डगौराले बताउँछिन् ।
चैते धान लगाउने कृषकहरुलाई नगरपालिकाबाट कृषि अनुदानमा आउने कृषि यन्त्र पावर ट्रेलरलगायतका सामग्री टाठाबाठा र पहुँचवालाहरुले हात पार्ने गरेको गुनासो किसान जैसीले गरे । बर्सातको धान जमिन जलमग्न भएर लगाउन सम्भव नहुने किसानहरु चैते धानको आम्दानीले आफ्नो जिविकोपार्जन गर्न सहज भएको बताउँछन् । चैते धान लगाउने कृषकहरुलाई स्थानीय सरकारले बिउबिजन र मलखादमा अनुदान दिए उत्पादन बृदि गर्न सकिने अर्का किसान सुरेश चौधरी सुझाव दिन्छन् । भजनी नगरपालिकामा सयौं बिगाहा क्षेत्रफलमा चैते धान लगाइन्छ ।