लकडाउनबाट कृषिका कार्यक्रम प्रभावित
नेपालगन्ज : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि भन्दै लामो समयसम्मको बन्दाबन्दीका कारण बाँके र बर्दियामा कृषि क्षेत्रका कार्यक्रम संचालन र कार्यान्वयनमा समस्या आएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार बन्दाबन्दीका कारण सूचना प्रवाह गर्न नसकेर केही कार्यक्रमको रकम खर्च नै हुन सकेको छैन भने संचालन भएका कार्यक्रम कार्यान्यवनमा पनि समस्या देखिएको छ । लकडाउनका कारण अभियानमुखी फलफुल खेती कार्यक्रमको एक करोड रुपैया खर्च नै नभएर स्थगित भएको ज्ञान केन्द्र प्रमुख सागर ढकालले बताए । कार्यक्रम अन्तगर्त आप, लिचि, केरा लगायत फलफुलमा प्रति हेक्टर एक लाख सम्म अनुदान दिने कार्यक्रम रहेपनि बर्खामा फलफुल खेती हुने भएकोले चैत्रमा सूचना प्रकासन गरी बैशाखमा मुल्याँकन गर्नुपर्ने समयमा कोरोनाका कारण समस्या भएपछि कार्यक्रम नै स्थगित गर्नुपरेको हो । स्थगित कार्यक्रम आगामि आर्थिक बर्षमा हुने ज्ञानकेन्द्रले जनाएको छ ।
यसबर्ष ज्ञानकेन्द्र अन्तगर्त प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कृषि विकास कार्यक्रम, अभियानमुखी लसुन प्याज कार्यक्रम लगायत विभिन्न कार्यक्रमहरु संचालनमा रहेका छन । लकडाउनका कारण समयमै ति कार्यक्रम संचालन गर्न नसकिएपछि कार्यान्वयनमा समस्या आउने देखिएको छ ।