थाल ठटाएर बाँकेमा स्थानीयले धपाए सलह

जानकी गाउँपालिका-४ खजुराखुर्दको खेतमा सलह । इन्सेटमा बैजनाथ गाउँपालिका-५ जीगाउँमा भाँडा ठटाएर सलह भगाउँदै एक युवा । फोटो : मेरो खुसी

जीगाउँ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका-५ जीगाउँका देवबहादुर रावतको परिवारले सलह भगाउन थाल ठटाए ।

भन्छन्, ‘सलह मकैमा बस्नै लागेको थियो । ठटाउँदा ठटाउँदा थालै फुटेछ । सलहको झुन्ड पनि भाग्यो ।’ उनकी पत्नी र छोराले पनि भाँडा बजाए । पूर्व-पश्चिम राजमार्गसँगै दक्षिणमा जोडिएको उनको घरमा मध्यान्न १२ बजेतिर पुग्दा छोरा बारीमा भाँडा बजाउँदै गरेको अवस्थामा भेटिएका थिए । उनको परिवार मात्र होइन, जीगाउँका खेतबारीमा थाल, कटौरा, फलामको बाँटा ठटाउनेहरुको लर्को नै थियो । त्यहाँका स्थानीयले भाँडा बजाएपछि सलह पश्चिमतिर उडेको थियो ।
बुधबार साँझ बाँकेको नरैनापुरमा ठूलो झुन्डमा देखा परेको सलह राति नै डुडुवा–१ मा पुगेको थियो । बिहानसम्म नेपालगन्ज उपमहानगरपालिका हुँदै जानकी, खजुरा, कोहलपुरहुँदै बैजनाथ गाउँपालिकातिर पुगेको थियो । स्थानीयले थाल लगायतका भाँडा ठटाउने, खेतमा आगो बालेर धुँवा बनाउने, बाजा बजाउने विधिबाट सलह भएका थिए । जानकी गाउँपालिका ४ खजुराखुर्दमा त भर्खरै रोपेर हरियो हुन लागेको बालीमा सहल बसेको थियो । धान खेतबाट कृषि प्राविधिक र स्थानीयले सलह भगाएका थिए । खजुराखुर्दमा धानको बिउ काट्दै गरेका प्रेमलाल काँदुलगायत उनको परिवारलाई खेतमा सलह आएको पत्तै थिएन । कृषि प्राविधिकले बताएपछि मात्र आफूले थाहा पाएको बताएका थिए ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले भारतको श्रावस्तीहुँदै बाँकेको नरैनापुरमा आएको कम्तीमा २० लाखको संख्यामा रहेको सलहको झुन्ड रुखमा बास बसेको बताए । सलहलाई जिल्लाका विभिन्न स्थानमा स्थानीयले धपाएका थिए । उनले भने, ‘हामीले विभिन्न मिडियाबाट सलहबारे सूचना प्रसारण गरेका थियौं । सोही सूचनाका आधारमा स्थानीयले सलह व्यस्थापन गरेका थिए । सलहबाट कतै पनि बालीमा क्षति भएको छैन ।’