बन्दाबन्दीमा महिला हिंसा र न्यूनिकरणका उपाय

घर परिवारमा मानवता हराएर चेलीको इज्जत लुटिएको जब म समाचारको हेडलाइन पढ्छु एकछिन त झस्किन्छु, आत्तिन्छु र एक्लै भक्कानिन्छुु
लेखक : जस्मिन शाह

कोरोना भाइरस (कोभिड–१९) ले धेरैलाई घर प्यारो बनायो । देश विदेश गएका पनि घर फर्कने लर्को नै लाग्यो । हाम्रो समाजमा अझै पनि सबैभन्दा घर सुरक्षित हुन्छ भन्ने मान्यता छ । होम क्वारेन्टाइन र होम आइसोलेसनमा बसेर हामी कोरोनाबाट जोगियौं । तर, यो बन्दाबन्दीमा सार्वजनिक भएको महिला हिंसाको तथ्याङ्कले घरभित्रै महिला हिंसाको शिकार भएको र घरभित्रै जोखिममा रहेको देखाएको छ । कोरोनाबाट जोगिन घरमै बसेका महिला दिदीबहिनी भने परिवारकै सदस्यबाट घरेलु हिंसाको शिकार भएका छन् । अनि बन्दाबन्दीको अँध्यारो कोठरीमा फस्टायो, महिला हिंसा । घरेलु हिंसा, बलात्कार र हत्या जस्ता जघन्य अपराध यही बन्दाबन्दीकै अवधिमा भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार बन्दाबन्दीमा विश्वभर २० प्रतिशतसम्म घरेलुु हिंसा वृद्धि भएको छ । माया र दयाको खानी, सौन्दर्यको रानी, सहनशीलताको प्रतिमूर्ति, शब्दहरुको भालाले मुटु छियाछिया पारिदिए पनि पीडा सहेर मुस्कान छर्नसक्ने एक अदभूत कलाकार हुन्, महिला । यिनै सृष्टिको अमूल्य गहनालाई सामाजिक, आर्थिक, शारिरीक, मानसिक र सांस्कृतिक रुपले गरिने अमानवीय, अपाच्य, अनैतिक एवं अवैधानिक क्रियाकलापहरु लगायत समाजमा देखिएका आमसञ्चारमा समेटिएका बलात्कार, अपहरण ,बोक्सी र दाइजोको नाममा हुने कुटपिटका दृष्टान्तहरु साथै इच्छा आकांक्षा आदि भावना व्यक्त गर्न नपाइ आफू आफैमा चेपिएर मनको रोदन र पीडाबाट निस्केको आँसुले हररात सिरानी भिजाँउदै रात काट्ने करोडौं महिलाहरूको दर्दनाक र कहालीलाग्दो अवस्था हो, महिला हिंसा ।
कोरोना महामारीको त्रासदीपूर्ण अवस्थामा पनि महिला हिंसाका घटना बढ्दै गएका छन् । कोभिड १९ को संक्रमणको रोकथामका लागि गरिएको बन्दाबन्दीमा महिला हिंसाका घटना तुलनात्मक रुपमा वृद्धि भएको छ । दाइजो नल्याएको र कम दाइजो ल्याएको निहुँमा, छोरी जन्माएको भन्दै, सन्तान नजन्मिएकोमा सबै दोष महिलालाई लगाएर हिंसा भएको छ । गालीगलोज गर्ने, चारित्र हत्या गर्ने तथा अपशब्द प्रयोग गरी महिला माथि शारीरिक र मानसिक हिंसा भएको समाचार सुनिन्छन् । महिलालाई हेर्ने नराम्रो र अशिक्षित सोचले महिला हिंसाका घटना नियन्त्रण हुन सकेका छैनन् । महिला हिंसा आज यो सुन्दर, शान्त र खुुसीयाली समाज र राष्ट्रका लागि तगारो बनेको छ । यहि तगारो उघारेर नारी र पुरुष एक रथका दुई पाङग्रा बनेर देश विकासको मुहारमा परिवर्तन ल्याउन जरुरी छ । तर बिडम्बना आजको यो पितृसतात्मक समाजमा महिलाको बोली व्यवहार, भावना र सहभागितामाथि चोर औला उठाइन्छ । छोरा जन्मदा खुसीले रमाउँदै बेलुन फुटाइनेले छोरी पाउँदा दुव्र्र्यवहार गर्छन् । घर परिवारभित्र नै मानवता र संस्कार बिर्सिएर चेलीको इज्जत लुटिन्छ । जब म समाचारको हेडलाइन पढ्छु एकछिन त झस्किन्छु, आत्तिन्छु, एक्लै भक्कानिन्छु । पाँच वार्षिया बालिकाको बलात्कार भयो रे त्यो पनि आफ्नै बावुद्वारा, एउटी महिलाको मृत्यु भयो रे श्रीमान्को पिटाइबाट अनि धिक्कार लागेर आउँछ, यो समाजप्रति ।
कोरोना महामारीविरुद्धको लडाइँमा सामाजिक दुरीलाई प्रमुख अस्त्र मानियो । धेरैजसो देशमा बन्दाबन्दी घोषणा भयो । कोभिड १९ को कुनै औषधि र खोप पत्ता नलागेका कारण विश्व स्वास्थ्य संगठनले सामाजिक दुरीलाई निर्विकल्प उपाय ठान्यो । बाहिर निस्किन नपाइने र सामाजिक दुरी कायम गर्नुपर्ने कठिन अवस्थामा पनि महिला हिंसाका धेरै घटना बहिरिएका छन् । महिलाहरु बलात्कार, हत्याजस्ता जघन्य अपराधका शिकार भएका छन् भने कति महिलाले आफूमाथिको हिंसा सहन नसकेर आत्महत्यासमेत गरेका छन् । बन्दाबन्दीले सामाजिक दुरी बढाए पनि पारिवारिक दुरी घटाएको छ । यो समयमा कतिपयले परिवारसँग बिताउन सकिने समयको महत्व बुझेका छन् भने कतिपय अवस्थामा विभिन्न कुराको अभावले घरघरमा तनाव पनि बढाएको देखिन्छ ।
समाजमा लैङ्गगिक भेदभाव छँदैछ । त्यसमा पनि परम्परागत मूल्य मान्यताको आधारमा गरिने हिंसाका कारण महिला बढी पीडित बन्ने गरेका छन् । आधुनिक विज्ञानको विकाससँगै नयाँ पुस्तामा आएको सचेतनाका कारण यसलाई हटाउन खोजिएता पनि परम्परागत मान्यता र अन्धविश्वासका कारण सदियांैदेखि जरा गाडेर रहेका विभिन्न प्रथा अझै समाजमा ब्याप्त छ । महिलाविरुद्ध हुने यस्ता घटनाहरुको रोकथामको लागि विभिन्न संघ, संस्थाहरुले जनचेतना जगाउने, अभिमुखिकरण कार्यक्रमहरु सन्चालन गर्ने र घटनालाई सार्वजनिक गर्ने कार्यहरु गरिरहेका छन् । समाजमा जस्तोसुकै परिवर्तन आए पनि महिलाहरुले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् । अझै पनि महिला हिंसाका कारण ज्यान गुमाएको, हिंसाकै कारण आत्महत्या गरेको समाचार आउन रोकिएका छैनन् । महिलाको लागि शिक्षामा पहुँच र सम्पत्तिमाथिको स्वामित्व स्थापित गरी कुरिति र कुसंस्कारको रुपमा रहेका विभिन्न प्रथाहरुको अन्त्य गरिनुपर्छ । त्यसका लागि महिला हिंसाविरुद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको व्यवहारिक कार्यन्वयन हुन जरुरी छ । महिला र पुरुषबीचको भेदभावलाई हटाउँदै पितृसतात्मक सोचमा परिवर्तन आए मात्र महिलाहरु अधिकार सम्पन्न बन्नसक्छन् ।
त्यसैले, महिला हिंसा निराकरण गरेर यो समाज र राष्ट्रलाई सुन्दर, शान्त र शालिन बनाउन अब हामी चुप बस्नुहुदैन । अब हामीले दण्डहिनताको अन्त्यलाई माध्यम बनाएर महिला हिंसाविरुद्धको अभियानमा अगाडि बढ्नुपर्छ । अपराधीलाई कानुनको कटघरामा ल्याएर सजायको भागेदार बनाउने काम दण्डहिनताको अन्त्य हो । विभिन्न हिंसात्मक गतिविधिका कारण फाटेका लाखौं नारीहरुको मन सिलाउन दण्डहिनताको अन्त्य हुनुपर्छ ।
अन्ततः राज्य संयन्त्र आफैमा सक्रिय भएर देशमा हुने विभिन्न किसिमका महिला हिंसाको पहिचान गरेर दोषीलाई दण्ड र पीडितलाई न्याय दिनुपर्छ । न्यायपालिकालाई नातावाद, कृपावाद, राजनीतिक संरक्षण, दवाब, भनसुन आदिले छुनुहुदैन् । यति गरेसँगै मलाई लाग्छ कि यो देशमा फेरि अर्को निर्मला बलात्कृत हुनुपर्नेछैन् । अनि हामीले महिला हिंसा निषेधित राष्ट्रको रुपमा हाम्रो देशलाई पाउनेछौ । अनि मैले कक्षा पाँचदेखि पढ्दै आएको नारी देवी हुन् भन्ने भनाइले सार्थकता पाउनेछ । बन्दाबन्दी अन्त्य भए पनि, कोरोना महामारीको अन्त्य भएको छैन । हाम्रो स्वास्थ्य हाम्रो जिम्मेवारी भन्ने भावनालाई नबिर्सनुहोला, सुरक्षित रहनुहोला, स्वस्थ रहनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *