कोरोना व्यवस्थापनमा गेरुवा गाउँपालिकाको १ करोड ७० लाख रुपैयाँ खर्च

स्वास्थ्यकर्मीलाई मात्रै २० लाख भत्ता, ४२ लाख रुपैयाँको राहत वितरण

शक्ति परियार: विश्वभर महामारीको रुप लिई रहेको नोवेल कोरोना भाईरस संक्रमणका लागि जारी बन्दाबन्दीको समयमा विभिन्न व्यवस्थापन तर्फ गेरुवा गाउँपालिकाले झण्डै १ करोड ७० लाख बराबर रुपैयाँ खर्च गरेको छ । कोरोना व्यवस्थापनका लागि २ करोड १० लाख रुपैयाँ बजेट छुट्याइएकोमा हालसम्म १ करोड ७० लाख रुपैयाँ बराबर खर्च भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत काँशी प्रसाद पँगेनीले जानकारी दिए ।
बन्दाबन्दीको समयमा नेपालका विभिन्न जिल्ला, भारत तथा तेस्रो मुलुकबाट आएका करिब १५ सय जनाको व्यवस्थापन र राहत वितरणका कार्यक्रमहरुमा सो रकम खर्च भएको अधिकृत पँगेनीले बताए । बन्दाबन्दीको जोखिम पूर्ण समयमा पालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा निर्माण गरिएका क्वारेन्टाईनहरुमा दिनरात खटेर काम गरेका स्वास्थ्यकर्मिहरुलाई मात्रै २० लाख प्रोत्साहन भत्ता वितरण गरिएको अधिकृत पँगेनीले बताए ।
त्यस्तै यो जोखिमपूर्ण समयमा पालिकाले झण्डै २२ सय घरपरिवारलाई ४२ लाख बराबरको खाद्यान्न राहत सामाग्री वितरण गरेको बताईएको छ । यसबाहेक पालिकाले क्वारेन्टाईनका लागि खाना,स्वास्थ्य सामाग्री,पिउने पानी,यातायात लगायतका विभिन्न कार्यमा छुट्टा छुट्टै खर्च गरेको र बाँकी रकम खातामै जम्मा रहेको अधिकृत पँगेनीले बताए ।