नेपालगन्ज भन्सारको राजश्व साढे ३ अर्ब कम 


नेपालगन्ज : नेपालगन्ज भन्सारले गत आर्थिक बर्ष २०७६/०७७ मा लक्ष्य भन्दा कम राजश्व असुली गरेको छ । कोरोना भाइरसका कारण लामो समयसम्म लकडाउन भएपछि भन्सारको राजश्व असुलीमा कमी आएको हो । कार्यालयको यसबर्षको लक्ष्य १५ अर्ब ४३ करोड ७५ लाख भएपनि असुली भने ११ अर्व ७७ करोड ८ लाख मात्र गरेको छ । यो कुल लक्ष्यको करिव ७६ प्रतिशत मात्रै भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । यो भन्सार असुली लक्ष्य भन्दा ३ अर्ब ६६ लाख रुपैयाले कमी हो ।
गत आर्थिक बर्ष २०७५/०७६ मा १२ अर्ब ३३ करोड १ लाख १६ हजार लक्ष्य रहेकोमा लक्ष्य भन्दा ५० लाख बढी राजश्व असुली भएको थियो । गतबर्षको राजश्व असुलीको तुलनामा यसबर्ष ९५.४२ प्रतिशत राजश्व संकलन भएको कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए ।
भन्सार असुली मात्र नभई यसबर्ष निकासी हुने बस्तुको संख्या तथा राजश्व समेत घटेको छ । गत आर्थिक बर्षमा निकासीवाट ९५ लाख २३ हजार राजश्व प्राप्त भएकोमा यसबर्ष ६७ लाख ८० हजार अर्थात गतबर्ष भन्दा २७ लाख ४३ हजार कम राजश्व असुली भएको छ ।
राजश्व संकलन हुने मुख्य समयमा कोरोना भाइरसका कारण लकडाउन हुँदा त्यसको प्रत्यक्ष प्रभाव राजश्व असुलीमा समेत परेको हो । यस भन्सारको राजश्वको मुख्य स्रोत पेट्रोलियम पर्दाथ भएको र लकडाउनका कारण सवारी साधन ठप्प हुँदा राजश्व असुलीमा असर परेको प्रमुख भन्सार अधिकृत निरौलाकोे भनाई छ ।