१४१ घरधनीले बाँकेमा दिए ३ करोड भाडा छुट

नेपालगन्ज : लकडाउन अवधिमा कारोबार नभएको भन्दै नेपालगन्ज उपमहानगरपालिकामा एक सय ४१ घरधनीले उद्योगी, व्यवसायीलाई घर भाडा छुट गरेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य भीम रानाभाटका अनुसार कम्तीमा एक महिनादेखि बढीमा चार महिनासम्मको भाडा छुट भएको छ । ‘सबै छुटको हिसाब किताब त भएको छैन । झन्डै तीन करोड रुपैयाँ बराबरको भाडा छुट भएको छ’, रानाभाटले भने, ‘कतिले चार महिनासम्म पूरै छुट दिनु भएको छ । कतिले आधा छुट गर्नु भएको छ । कतिले त अझैं पनि कारोबार नभएकाले थप छुट दिने बताउनु भएको छ ।’ घर धनीले कम्तीमा १० हजार रुपैयाँदेखि डेढ लाख रुपैयाँभन्दा बढी छुट दिएका छन् ।
भाडा छुट पाउनेहरुमा आधा भन्दा बढी होटल रेष्टुरेन्ट नै छन् । कपडा पसल, ज्वैलर्स, प्लाष्टिक, बिजुली, बैंक, वित्तीय संस्थालगायतका रहेका छन् । उद्योगी व्यवसायीलाई घरभाडा छुट दिने घरधनीलाई नेपालगन्ज उद्योग वाणिज्य संघ मातहतको संयुक्त वस्तुगत व्यवसायी समन्वय समितिले सोमबार नेपालगन्जमा सामाजिक दुरी कायम गर्दै सम्मान गरेका थिए । कुमार अधिकारीले नेपालगन्जको पुष्पलाल चोक क्षेत्रमा रहेको नारायणी रुकुमेली होटललाई ४५ दिनको एक लाख रुपैयाँ भाडा छुट गरेको बताए । उनले भने, ‘मेरो भाडाको घरमा कारखाना छ । लकडाउन अवधिको सबै महिनाको भाडा तिरेको छु । समस्यामा परेका होटल व्यवसायीलाई एक लाख रुपैयाँ भाडा छुट दिएर सहयोग गरे ।’ अधिकारी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्रशासन प्रमुख हुन् ।

लकडाउन अवधिको एक लाख रुपैयाँ घरभाडा छुट गर्ने कुमार अधिकारीलाई सम्मान गरिँदैं । फोटो : रमेश सिटौलाको फेसबुकबाट