भेरीको ल्याबमा स्वाबको चाङ, नेपालगन्जकै नीजि ल्याबलाई कोरोना परीक्षण गर्न दिइएन

भेरी अस्पतालको कोरोना प्रयोगशालामा स्वाबको थुप्रो । फाइल फोटो

नेपालगन्ज : आन्तरिक राजस्व कार्यालय नेपालगन्जबाट ५३ जना कर्मचारीको स्वाब संकलन गरिएको ४ दिन पूरा हुँदा पनि रिपोर्ट आएको छैैन । शाखा अधिकृत र नायब सुब्बामा कोरोना देखिएपछि आइतबारदेखि कार्यालय बन्द छ । सेवाग्राही कार्यालय आउँदै गेटको सूचना पढेर फर्कने गरेका छन् । तर भेरी अस्पतालले कोरोना रिपोर्ट नदिएकै कारण कार्यालयले सेवा दिन पाएको छैन ।
आन्तरिक राजस्व कार्यालयको मात्र होइन, बाँके बर्दिया लगायतका जिल्लाका स्वाब भेरी अस्पताल नेपालगन्जको कोरोना प्र्रयोगशालामा पाँच दिनदेखि स्वाबको चाङ लागेको छ । सेवाग्राही छिटो छरितो सेवा नपाइरहेको बेला सरकारले नेपालगन्जमै रहेको नीजि प्रयोगशालालाई अनुमति दिएको ३ साता बितिसक्दा पनि एउटा पनि नमूना परीक्षण गर्न दिएको छैन ।
भेरीको कोरोना प्रयोगशाला प्रमुख प्रशन्न मिश्र पनि स्वाबको चापका कारण स्वाब परीक्षण गर्न कम्तीमा तीन दिन लाग्ने बताउँछन् । यो प्रयोगशालामा बाँके, बर्दिया, दाङ, प्युठान, सल्यानलगायतका जिल्लाको नमूना पनि आउँछ । भेरी ल्याबका प्राविधिक प्रचण्ड गौतमका अनुसार प्रयोेगशालामा झन्डै सात सयको हाराहारीमा नमूना संकलन भइसकेको छ । उनी अस्पतालमा दिनहुँ औसत पाँचदेखि ६ सयको हाराहारीमा नमूना संकलन परीक्षणका लागि आउने गरेको बताउँछन् ।
भेरीमा स्वाबका नमूनाको चाप भए पनि नेपालगन्जमै सरकारबाट २४ असारमा अनुमति पाएको बागेश्वरी डाइग्नोसिस सेन्टर एण्ड पोलिक्लिनिकले एउटा पनि स्वाब परीक्षण गर्न पाएको छैन । सरकारले दिएका स्वाब मात्र परीक्षण गर्ने नीजि प्रयोगशालालाई अधिकार हुन्छ । ‘अनुमति पाएको दुई हप्ताभन्दा बढी समय भयो । अहिलेसम्म सरकारबाट एउटा पनि नमूना पाएको छैन’, पोलिक्लिनिकका सन्चालक विमल बुढाथोकीले गुनासो गरे, ‘अनुमति पाएको ७२ घण्टाभित्र नमूना पाइसक्ने सहमति छ । हामीले नमूना परीक्षण गर्न नसके अर्को संस्थालाई अनुमति दिने पनि भनिएको छ तर अहिलेसम्म एउटा पनि नमूना पाएका छैनौं ।’

नेपालगन्जमा रहेको बागेश्वरी डाइग्नोसिस सेन्टर एण्ड पोलिक्लिनिकको कोरोना प्रयोगशाला

जिल्लास्थित कोभिड–१९ व्यवस्थापन केन्द्रका संयोजक रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ भन्छन्, ‘सरकारी ल्याबले सकेन भने नीजिमा दिने हो । भेरीको ल्याबले काम गर्नसक्छु भनेकाले पनि नीजि प्रयोगशालालाई नमूना परीक्षण गर्न नदिएको हो ।’ कस्तो अवस्थामा नीजिमा नमूना परीक्षण गर्न दिने भन्ने कार्यविधि र नीतिगत व्यवस्थाबारे स्पष्ट नभएकाले पनि नीजिलाई नमूना परीक्षण गर्न दिन अप्ठारो भएको उनी बताउँछन् ।
काठमाडौं उपत्यकामा नीजि प्रयोगशालालाई सरकारले प्राइभेट रुपमा कोरोना परीक्षण गर्न अनुमति दिए पनि एकै नियममा, एकैदिन अनुमति पाउने आफ्नो प्रयोगशालालाई विभेद गरेको बुढाथोकीको गुनासो छ । उनको माग छ, ‘८० लाख रुपैयाँ खर्चेर कोरोना प्रयोगशाला बनाइयो । सरकारी नमूना नदिए पनि प्राइभेट परीक्षण गर्न दिए पनि हामीमाथि न्याय हुन्थ्यो ।’