विपन्न परिवारलाई बाख्रा र चल्ला सहयोग

फोटो सौजन्य : बाँके युनस्को क्लब

नेपालगन्ज : बाँके युनस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा जिल्लाका विभिन्न स्थानका अति विपन्न परिवारलाई बाख्रा र कुखुराका चल्ला वितरण गरेको छ ।
नेपालगन्ज उपमहानगर, खजुरा, राप्तीसोनारी र जानकी गाउँपालिकाका १५ अति विपन्न परिवारलाई जिविकोपार्जनका लागि ९ लाख ३९ हजार ७५ रुपियाँ बराबरको बाख्रा र कुखुराको चल्ला वितरण गरेको हो । जिविकोपार्जनका लागि बाख्रापालन परियोजना अन्तर्गत १० विपन्न परिवारलाई प्रति परिवार ५ वटा पाठी बाख्रा र एउटा बोको गरेर ६ लाख ८५ हजारको वितरण गरिएको क्लबका संरक्षक सिद्दिकीले जानकारी दिए ।
त्यसैगरी जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरापालन कार्यक्रमबाट ५ वटा विपन्न परिवारलाई प्रति परिवार सय वटा कुखुराका चल्ला, २ क्वीवन्टल दाना, ३ वटा पानी खवाउने फिडर र ३ वटा वाटर ड्रम गरेर २ लाख ५४ हजार ७५ रुपियाँको वितरण गरिएको थियो ।
क्लबका अध्यक्ष राजेन्द्र चौधरीको सभापतित्वमा मंगलबार नेपालगन्जमा सम्पन्न वितरण कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह र क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले विपन्न परिवारलाई बाख्रा र चल्ला वितरण गरेका थिए ।